बागलुङ, ३ साउन– वर्षेनी पहिरोका कारण हुने क्षति कम गर्न जिल्लाको काठेखोला गाउँपालिकाले सडक निर्माणमा सावधानी अपनाउने भएको छ । नयाँ सडक निर्माण र स्तरोन्नती गर्दा संरचना निर्माण र वृक्षारोपणलाई जोड दिन लागिएको हो । बाढी र पहिरोको जोखिम रहेको क्षेत्रमा सडक निर्माण गर्दा वातावरणमैत्री सडक निर्माण गर्ने नीति गाउँपालिकाले बनाएको अध्यक्ष अमर थापाले बताए ।
प्रविधिको प्रयोग गरेर नयाँ सडक बनाउँदा पहिरोको जोखिम बढेको भन्दै गाउँपालिकाले सडक बनाउँदा संरचना निर्माणलाई अनिवार्य गरेको छ । पहिरो नियन्त्रणका लागि वृक्षारोपणलाईसँगै अघि बढाईएको थापाले बताए ।.‘सडक निर्माण गर्दा पर्यावरणीय रुपबाट वातावरणमा प्रतिकुल असर पर्ने भएकोले हामीले सुरुदेखि नै त्यस्तो कार्यलाई सकेसम्म निरुत्साहित गर्न प्रयत्न गरिरहेका छौ ।’ थापाले भने ‘आगामी आवमा पनि गाउँपालिकाले अबलम्बन गरेको मार्गदर्शन बमोजिम स्थानीय श्रोत, जनशक्ति, साधन र जनसहभागिता परिचालनमा बिशेष जोड दिई रोजगारी सृजना गर्ने योजना संचालनमा ल्याइनेछ ।’
काठेखोलामा नयाँ सडक भत्काउने काम बन्द भएको थापाको दावी छ । भएका सडकको स्तरोन्नतीमा समेत वातावरणमैत्री योजना बनाउनुपर्ने छ । ‘गत बर्षमा ५० प्रतिशत संरचना निर्माण नगर्ने योजनाले भुक्तानी पाएनन्’ थापाले भने ‘यो आवमा ६० प्रतिशत संरचना निर्माण अनिवार्य गर्ने योजना छ ।’ संरचना बनाउँदा बाढी पहिरोको जोखिम कम हुने, सडक बलियो हुने र स्थानीयले रोजगारी पाउने गाउँपालिकाको विश्वास छ ।
ग्याबिन लगाउने, मेसिनरी वाल बनाउने, सडक नाली बनाउने, माटोको व्यवस्थापन गर्ने र सडक बनाएका ठाउँहरुमा अम्लिसो, खनिमजस्ता घाँसबालीका बिरुवा लगाउने योजना गाउँपालिकाको छ । ‘ढुंगामाटो हामीसँग छ, त्यो भत्काउन मेसिन लगाउनभन्दा समथर बनाउन युवा लगाउँदा गाउँपालिकामा नै बजेट उपयोग हुन्छ’ थापाले भने ‘छेउछाउको घाँसे रुखले पशुपालनमा सभाउँछ ।’
काठेखोलाको सबै वार्डमा सडक सञ्जाल पुगेको छ । मुख्य सडकहरु गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्मका सडकलाई थप स्तरोन्नती गर्न बाँकी रहेको थापाले बताए । चालु वर्षमा ग्राबेल, ढलान र कालोपत्रे जस्ता काम गर्न पहिलो प्राथमिकता दिईने छ । नयाँ ट्रयाक खोल्नलाई निरुत्साहित गरिने भएकाले अब बन्ने सडक पहिरोको जोखिम लिएर नआउने थापाको विश्वास छ । यसअघि काठेखोला–७ रेशको जिरेदीमा सडक निर्माणमा भएको असाबधानीकै कारण यस बर्ष पहिरोले ठुलो क्षति पु¥याएको छभने बिहुँका दुई वडामा निर्माण भैरहेको मध्यपहाडी लोकमार्गका कारण ठाउँ ठाउँमा पहिरोको जोखिम छ ।





