बागलुङ, ५ असार– बागलुङको तमानखोला गाउँपालिकाले आफ्नै पाठ्यक्रम तयार गरेको छ । नयाँ शैक्षिक सत्रबाट गाउँपालिकाले कक्षा १ देखि ५ सम्म आफ्नै पाठ्यक्रम लागू गरेको हो ।
गाउँपालिकाले तयार गरेको पाठ्यक्रम समावेश गरेको पुस्तक तयार भएको छ । सबै विद्यालयमा पाठ्यपुस्तक पठाइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका २१ सामुदायिक र २ निजी गरी २३ विद्यालयमा पाठ्यपुस्तक पठाएको शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।
पाठ्यपुस्तकमा तमानको कला, संस्कृति, भूगोल, खानी, कृषि, वनपैदावार र प्राकृतिक स्रोतको विषय समेटिएको छ । गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्य सचिव रहेको ७ सदस्यीय पाठ्यक्रम निर्धारण समितिले पाठ्यक्रम तयार गरेर कार्यान्वयनमा ल्याएको हो ।
पाठ्यक्रम विकास केन्द्रले गाउँपालिकाले तयार गरेको पाठ्यक्रम र पाठ्यपुस्तकलाई अनुमति प्रदान गरेपछि पठनपाठन सुरु भएको अध्यक्ष जोकलाल बुढाले बताए । २०८० सम्ममा पालिकाले माध्यमिक तहको लागि पनि पाठ्यपुस्तक तयार गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।
स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावनालाई विषयवस्तु बनाएर पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्नसक्ने संवैधानिक व्यवस्थाअनुसार तमानखोलाले स्थानीय पाठ्यक्रम तयार गरेको हो । पाठ्यपुस्तकको नाम ‘मेरो तमानखोला’ राखिएको छ ।
हप्ताको ४ दिन पठनपाठन हुनेगरी १०० पूर्णांकको पाठ्यक्रम तयार गरिएको घर्तीले बताए । एक सय पूर्णांकलाई २ खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ । पाठ्यक्रम निर्माणका क्रममा स्थानीयदेखि राष्ट्रिय विज्ञको रायसुझाव लिईएको थियो । पाठ्यक्रमलाई प्रदेश स्थानीय पाठ्यक्रम निर्माण प्राबिधिक सहजिकरण समितिको सहजीकरण र मार्गनिर्देशन पछि पुस्तक तयार गरिएको गाउँपालिकाले जनाएको छ ।





