बागलुङ, ५ साउन– काठेखोला गाउँपालिकाले डिजिटल प्रोफाईल तयार पारेको छ । गाउँपालिकाका सबै घरधुरीको विवरण प्रबिष्ट गरिएको प्रोफाईल तयार भएको हो ।
गाउँ विकासको लागि योजना निर्माण र डिजिट माध्यमबाट जानकारी लिन चाहनेहरुका लागि तयार भएको प्रोफाईलले सहयोग गर्नेछ । गाउँपालिकाले तयार गरेको डिजिटल प्रोफाईल सार्वजनिक गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।
‘अब हरेक घटना र विवरणहरु क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिने छ’ थापाले भने ‘प्रोफाईल अपडेट गर्न कर्मचारीलाई तयार गरिने छ ।’ गाउँपालिकाको भौगोलिक अवस्थादेखि कला संस्कृति र जनसंख्यासम्मका विवरण प्रोफाईलमा भेटिने थापाले दाबी गरे ।
‘चाहेको सबै विवरण इन्टरनेट भएको ठाउँमा एक क्लिकमा देख्न पाईन्छ’ थापा भन्छन् ‘काठेखोलाको बिषयमा बुझ्न अब गाउँपालिकानै आउनु पर्दैन् ।’ व्यक्तिगत घटना दर्ता, राजश्वको भुक्तानी, योजनाको सम्झौता तथा फरफारक लगायतका काम डिजिटल माध्यामबाट सुरु गरिसकेको गाउँपालिकाले स्मार्ट गाउँपालिका बनाउनकै लागि डिजिटल प्रोफाईल तयार गरेको जनाएको छ ।
‘हरेक घरको तस्विर हुन्छ, घरमा रहेका सदस्य संख्या र उनीहरुको सबै विवरण त्यहाँ राखिएको छ’ थापाले भने ‘थपघट हुँदा जोड्ने र घटाउने काम सार्वजनिक भएपछि सुरु हुन्छ ।’ प्रोफाईल तयार गर्नका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा २५ खाल रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रविधिको विकाससँगै विवरणलाई पनि आधुनिक तरिकाबाट सुरक्षण गरिएको थापाले बताए । आठ वडा रहेको गाउँपालिकाले सबै वडाका हरेक घरमा पुगेर विवरणहरु संकलन गरेको थियो ।





