बागलुङ, ५ असार– मध्यपहाडी लोकमार्ग कालोपत्रे हुनुअघि गलकोट जाने अधिकांस सवारी रगेनी तोरीखोलाहुँदै नरेठाँटीको बाटो हिँड्थे । घोडाबाँधेबाट यो सडकको यात्रा एक घण्टामै गलकोट पुगिन्थ्यो ।
झण्डै ८ बर्ष भयो, यो सडक गुमनाम जस्तै भएको छ । यो सडकमा अधिकांसको नजर पर्दैन । त्यही मौका छोपेर यहाँ काम गरिरहेको ठेकेदार कम्पनीले पनि लाखौं रकम अलत्रप पारेर काम छाडेको छ । ठेकेदारको लापरबाहीले यो सडक अलपत्र परेको छ । बर्षात्मा यो सडकमा सवारी गुड्न सकेका छैनन् ।
गलकोट जाने यो बैकल्पिक र छोटो सडक हो । यो सडक पक्की बन्दा जिप र ट्याक्सीलाई बढी फाइदा हुन्छ । सडक पक्की भएपछि ठूला सवारीसमेत गुड्न सक्छन् । यहाँ दुदिलाभाटीको सडक जस्ता धेरै घुम्तीहरु छैनन् । यो सडक संचालन हुँदा लोकमार्ग ८ किमी छोटो हुने गलकोटतर्फ जिप चलाइरहेका अर्जुन खत्रीले बताए ।
यो सडकबाट गलकोट नगरपालिका वडा नं. २ का अधिकांस बासिन्दाले अहिले पनि यात्रा गर्छन् । पश्चिम बागलुङ जानेले पनि यो सडकबाट जाँदा १ घण्टा छिटो गन्तव्यमा पुग्न सक्ने बताउँछन् । ठेकेदार पक्षले भने निर्माणाधिन सडकको काम थालेपछि अलपत्र छाडेकोले पैदल यात्रीले पनि सास्ती खेप्नुपर्ने बाध्यता भएको गलकोट नगरपालिका वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए ।
कालोपत्रे गरिएको लोकमार्गको दुदिलाभाटी खण्डमा दर्जनौ स्थानमा भाँसिएको छ । केही घुम्ती खसेर जोखिमको यात्रा गर्नुपर्ने बाध्यता छ । गतबर्षदेखि नै भाँसिन थालेका धेरै स्थानमा खाडल परेर दुर्घटनाको जोखिम छ । क्षतविक्षत सडकको बिकल्प बनाउन गलकोट नगरपालिकाले थालेको अभियानमा ठेकेदार बाधक भएको नगरप्रमुख भरत शर्मा गैरेले टिप्पणी गरे । ‘गतबर्षदेखि नै लोकमार्ग क्षतबिक्षत छ, बनाउन भनेका छौं, बर्षाले धेरै पहिरो खस्दा जिप समेत रोकिएका छन्’ उनले भने, ‘मेसिनरी काम केही नगरी डोजर चलाएर छाडिदिएपछि पहिरो खसेको छ । सामान्य स्थानमा पनि सडक हिलाम्मे भएको छ ।’ पटक पटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएको उनले बताए ।
४७ लाख रुपैयाँमा एक कजवे, केही खण्डमा ग्याबिन लगाउने र पक्की नाली निर्माणको काम गर्नुपर्ने सम्झौता थियो । गत फागुनमा आएका ठेकेदारले डोजर लगाएका थिए । माटो खनेर छाडेपछि कोरोनाको बाहना देखाएर हिँडेका सातबिसे कन्स्ट्रकसनका ठेकेदार अहिलेसम्म नफर्केका हुन् । डोजर लगाएर ठाउँ ठाउँमा थुपारेको माटो अहिले हिलाम्मे भएको छ । ‘यो सडकमा अहिले गाडी गुडेका छैनन्’ वडा अध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘पहिरो नखस्ने स्थानमा पनि ठेकेदारकै लापरबाहीले पहिरो खसेर सतायो ।’
नगरपालिकाले इन्जिनियर बलबिक्रम दाहाललाई पठाएर मूल्यांकन गर्दा १३ लाख रुपैयाँको मात्रै काम भएको भेटिएको हो । ‘काम अलपत्र पारेपछि हामीले ताकेता गरेका थियौं, सम्पर्कमै नआएपछि सार्वजनिक सूचनामार्फत स्पष्टीकरण सोधेका छौं’ उनले भने, ‘ठेक्का रद्द गर्ने, धरौटी जफल गर्ने सम्मको प्रक्रियामा पुग्नुपर्ने अवस्था आयो ।’
ठेकेदार शिव दर्जीले कोरोनाका कारण घर फर्केको दाबी गरे । ‘असारको अन्तिम साता आउन खोजेको थिए, मेयरसापले नआउन भन्नुभयो’ दर्जीले भने, ‘केही सामान पनि जोडेको थिए, म्याद थपिदिनुहोस् काम गर्छु भनेको मान्नु भएन ।’ गत जेठ मसान्तमै काम सक्ने भनेपनि असार मसान्तमा मात्रै ठेकेदार सम्पर्कमा आएका हुन् ।
इन्जिनियर दाहालका अनुसार असार २४ गतेभित्र जे काम भएको छ त्यसकै मूल्यांकन गरेर भुक्तानी दिने सरकारी प्रावधान अनुसार १३ लाख ५६ हजार मूल्यांकन भएको बताए । ‘मूल्यांकन भएकै काममा पनि पहिरो खसेर क्षतविक्षत छ’ उनले भने, ‘ठेकेदारले बाहानाबाजी गरेर लापरवाही गरेकै हो, म्याद थपिदिने काम गर्न सकिएन ।’ बरु नगरपालिकाले तत्काल पहिरो पन्छाएर सडक खुलाउने प्रयास गर्ने उनले बताए ।





