पोखरा, ५ साउन – गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही निर्वाचित भएका छन् ।
मंगलबार भएको समितिको निर्वाचनमा शाही सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।
नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीको विरुद्ध उम्मेदवार दिएका थिए । छलफलपछि विष्टले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत भएका हुन् । १३ सदस्यीय प्रदेश मामिला समितिमा ६ जना एमालेका सदस्य रहेका छन् ।
सभामुख नेत्रनाथ अधिकारीले शाहीलाई मंगलबारै पद तथा गोपनीयताको शपथ गराएका छन् । शाहीले आजैबाट कार्यभार सम्हालेका छन् ।
शाहीले गाडीसहित इन्धन, अतिथि सत्कार, आवास, सञ्चार, स्वदेश तथा विदेश भ्रमण भत्ता लगायतको सुविधा पाउँछन् । संसदीय समितिका सभापतिले ५६ हजार ८ सय ४० रुपैयाँ तलब सुविधा पाउँछन् ।





