बागलुङ, ६ साउन– बुधबारदेखि बागलुङबाट राजधानी काठमाण्डौसहितका सहरी क्षेत्रमा बस, माइक्रोबस र जिप संचालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिकसहित यातायात व्यवसायीबीच मंगलबार भएको छलफलले दैनिक अत्यवास्यक सेवाका लागि केही बस र जिप चलाउने निर्णय गरेको हो । ‘अहिले रातो प्लेटले चर्को भाडा असुल्ने गरेको गुनासो आयो, त्यसैले सार्वजनिक यातायात नै चलाउने निर्णयमा पुग्यौं’ प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने, ‘यो खुलमखुला चलाउन खोजेको भने होइन ।’ काम बिशेषले यात्रा गर्नुपर्नेले चर्को भाडा तिर्नु नपरोस् भनेर खुला गरिएको उनले बताए ।
सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले निशेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको थियो । साउन १४ गतेसम्म निशेधाज्ञा थप गरेपनि खुकुलो भएको छ । राजधानीसहितका सहरी क्षेत्रमा जानेले निजी सवारीमा चर्को भाडा तिरेको गुनासो आएपछि यातायात खुलाउने निर्णयमा पुग्न उपभोक्ता मंच र यातायात व्यवसायीले पहल गरेका थिए । बैठकपछि प्रशासनले दैनिक १४ वटा सवारी साधनलाई अनुमति दिएको हो ।
अनुमति पछि हरेक दिन काठमाण्डौंका लागि बिहान र बेलुकी बस तथा माइक्रोबस समेत चल्न पाउने छन् । त्यसबाहेक चितवनका लागि एक बस, २ वटा जिप, सुनौलीका लागि बागलुङबाट एक बस, बुर्तिवाङबाट पश्चिम नेपाल यातायात कम्पनीको बस चल्न पाउनेछन् ।
लामो दुरीतर्फ काकडभिट्टा र नेपालगञ्ज पनि रात्री सेवामा बस चल्नेछन् । ती सबै सवारी साधन गन्तव्यमा पुग्नका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र साथैमा लिएर जानुपर्ने प्रावधान राखिएको छ । उक्त पत्र भएका सवारीलाई पर्ने अप्ठ्यारो परेमा प्रशासनले सहजीकरण गर्ने प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए । अनुमति लिएर हिडेका सवारी साधनले तोकिएको भाडा मात्र लिन पाउने छन् । सरकारले हालै वृद्धि गरेको २८ प्रतिशतको हिसाबभन्दा बढी लिएमा कारवाही गरिने प्रजिअ कार्कीले चेतावनी समेत दिएका छन् ।
निशेधाज्ञापछि सार्वजनिक यातायात चलेका थिएनन् । यातायात नचलेकै कारण यात्रीले सास्ती खेपेका थिए । पोखरा जानु पर्दा यात्रीले ५ हजार रुपैयाँसम्म तिर्न बाध्य थिए । अन्य क्षेत्रमा पनि रिर्जभ गरेर एकतर्फी यात्रा गर्दा दुइतर्फीको भाडा तिर्नुपरेको गुनासो गर्थे ।
निशेधाज्ञाकै क्रममा लोकल बस पनि रोकिएका छन् । बागलुङदेखि कुश्माका लागि चल्ने लोकल बसले पनि बुधबारदेखि संचालन गर्न पाउने भएका छन् । ‘सबै सवारीले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ, तोकिएको भाडामा चलाउनु पर्छ’ कार्कीले भने, ‘यो नाफा कमाउने बेला हैन, सवारी नियति गर्ने र जनतालाई सेवा दिने मौका हो ।’ राख्दा पनि बिग्रने भएकोले सवारीले मापदण्ड पालना गरेर मात्रै चलाउनुपर्ने प्रावधान राखिएको बताए ।
बागलुङदेखि कुश्मा र कुश्मादेखि बागलुङ जानका लागि दैनिक एकसय बढी कर्मचारी समेत आउजाउ गर्छन् उनीहरुबाहेक अत्यावस्यक काम पर्नेले पनि यात्रा गर्नु पर्ने भएकोले लोकल बस पनि चलाउन सुझाव दिएकोमा अनुमति मिलेको जिप व्यवसायी समितिका पूर्व अध्यक्ष बिष्णुप्रसाद अधिकारीले बताए । दैनिक ६ वटा लोकल बस चलाउने अनुमति प्रशासनले दिएको छ । ती सवारी साधनले बिहान र बेलुकी कार्यालय समयलाई समेत ध्यानमा राखेर चलाउनु पर्ने बताइएको छ ।





