बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नरेठाँटीका सबै घरमा धारा

नरेठाँटीका सबै घरमा धारा

६ सय ३७ घर धुरीमध्ये ३ सय घरले पानी खान थालिसकेका छन् ।


  • ढोरपाटन सम्वाददाता
  • साउन ६ २०७८, बुधबार

बागलुङ, ६ साउन– गलकोट नगरपालिका २ का ६३७ घरमा ‘एक घर एक धारा’ अभियान संचालन भएको छ । जसपुर घामपानी मसरा खानेपानी आयोजना नामाकरण गरिएको योजनाबाट वडा नम्बर २ का सबै घरमा खानेपानी पु¥याउने लक्ष्य राखिएको छ ।
आगामी वर्षभित्र सबै घरमा धारा बनाइसक्ने लक्ष्यसहित काम संचालन भएको हो । केही समय बाँकी छँदैमा दुइतिहाइ घरमा खानेपानी पुगिसकेको छ । त्यसकालागि सबै टोल तथा बस्तीमा योजनाहरु निर्माणाधीन छन् । केही बस्तीमा खानेपानीका धारासमेत बनेर पानी संचालन भसकेको छ ।
सबै टोल तथा बस्तीका स–साना योजना जोडेर बृहत योजनासहित घरघरमा खानेपानी पु¥याउने लक्ष्य राखिएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘नगरपालिका, नगर विकास कोष, संघीय बजेट र कादुरी च्यारिटेवल फाउण्डेसनलगायतका संस्थाको सहकार्यमा सबै योजना पूरा गर्ने तयारीमा छौं’, उनले भने, ‘दर्जन बढी मुहानलाई वडाभरको योजनामा समावेश गरिएको छ ।’ ६ सय ३७ घर धुरीमध्ये ३ सय घरले पानी खान थालिसकेको भण्डारीले बताए ।
२०७४ सालमा वडा भरको डीपीआर बनेपछि सबै संस्थाको समन्वयमा योजना निर्माण सुरु भएको थियो । संघीय खानेपानी तथा ढल निकास परियोजना म्याग्दीले आयोजनाको मुख्य पाटो हेरेको छ । आयोजना सम्पन्न गर्न कुल ३२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘पहिला खानेपानीको सास्ती थियो, योजना बनेपछि घरघरमा धारा छ, सजिलो भएको छ’, थुक्का गाउँकी मानकुमारी भण्डारीले भनिन्, ‘दैनिक एक घण्टा धारोमा बस्ने समय अहिले काममा लगाउन पाइएको छ ।’
बाघमाराबाट ल्याएको पानीले थुम्कागाउँका २५ घरमा पानीको व्यवस्थापन भैसकेको छ । यहाँ २ लाख लिटरको खानेपानी ट्यांकी निर्माणपछि घरघरमा धारा बितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर कुँवरले बताए ।
वडाले सबै घरमा धारा पुगेपछि मात्रै मिटर जडान गर्ने योजना बनाएको छ । ‘सबै घरमा पानी पुगेपछि मिटरसहितको व्यवस्थापन गर्छौँ’, भण्डारीले भने, ‘मर्मत कोष बनाउने र उपभोक्तालाई आफ्नो लगानी समेत छ भन्ने बनाउन यो योजना बनाइएको हो ।’ उनका अनुसार तोरीखोला गाउँमा पनि खानेपानी पुगिसकेको छ ।
घामपानी भन्ने स्थानमा केही र नरेठाटी बजार आसपासका केही घरमा भने पानीको व्यवस्थापन भैरहेको हो । कतिपयले पुरानो धाराबाट खाइरहेकोले अभाव भने छैन । ‘तल्ला गाउँमा पानीको अभाव त थिएन, व्यवस्थित भने नभएकोले योजनामा एकैपटक जोडिएको हो’, वडा सदस्य दुर्गा बस्नेतले भनिन्, ‘अब खानेपानीमा सबै समान अवसर पाउँछन् भन्ने सन्देश दिन सकिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->