बागलुङ, ८ साउन– काठेखोला गाउँपालिकाले जिल्लामै पहिलो पटक डिजिटल गाउँ प्रोफाइल तयार पारेको छ । गाउँपालिकाभरिको तथ्यांकसहित व्यक्तिगत अवस्था समेत थाहा पाउने गरी प्रोफाइल तयार गरिएको अध्यक्ष अमर थापाले बताए ।
फोरजी इन्जिनियरिङ कन्सल्टेन्सीले झण्डै ६ महिना लगाएर प्रत्येक घरघरमा पुगेर तथ्यांक संकलन गरेपछि यो प्रोफाइल तयार भएको थियो । बिहिबार गाउँपालिकाका अध्यक्ष अमर थापाले प्रोफाइलको शुभारम्भ गरे । अब हरेक नागरिक र सरोकारवालाले देशबिदेशमा बसेर आफ्नो घरपरिवारको जानकारी लिन सक्नेछन् ।
हाल छुटेका तथ्यांक अपडेट गर्ने, पञ्जिकरणका सूचक थपघट गर्ने अधिकार भने वडा कार्यालयलाई दिने तयारी छ । त्यसका लािग गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र वडा सचिवलाई सूचना अपडेट गर्ने अधिकार दिइने बताइएको छ । तथ्यांकमा गाउँपालिका भरका सबै घरको वास्तविक अवस्था देखाइएको छ ।
सार्वजनिक समारोहमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नविश शिसिर बिकले स्मार्ट पालिकाको अवधारणामा पुरा गर्न बाटो खुला भएको बताए । गाउँपालिका अध्यक्ष थापाको अध्यक्षता, प्रशासकीय अधिकृत मनोज कार्कीको संचालन र प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





