बागलुङ, ९ साउन– कोरोना संक्रमणको दोस्रो लहरले बागलुङको बडिगाड सबैभन्दा बढी प्रभावित भयो । यो समयमा जिल्लाको मृत्युदरदेखि संक्रमणको समस्या बडिगाडले खेप्यो ।
त्योबेला बिरामीको सेवा गर्ने र औषधि उपचारमा खटिने काम सजिलो थिएन । बैशाख तेस्रो साता गाउँपालिकामा एकाएक कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो । घरघरमा बिरामी पर्न थाले । अधिकांशलाई श्वासप्रश्वासको समस्या भयो । अधिकांश बिरामीलाई तत्काल चिकित्सकको निगरानीमा अक्सिजन दिएर राख्नुपर्ने भयो ।
बडिगाड गाउँपालिकाले स्थापना गरेको कोभिड अस्पतालमा उपकरण र सामग्री केही पनि थिएनन् । तत्काल ल्याउनुपर्ने आवश्यकता खड्कियो । अधिकांश सामान काठमाडांै पुगेर ल्याउनुपथ्र्यो । जतिसक्यो छिट्टै अस्पतालका बेड, अक्सिजन कन्सन्ट्रेटर, पीपीई, औषधिलगायतका सामान ल्याउन सक्नेको खोजी हुँदा यहाँका राजन पाइजा सबैको नजरमा परे ।
बडिगाड गाउँपालिका–५ का पाइजा आदेश पाएपछि पैसा बोकेर काठमाडौं हिँडे । बडिगाडबाट बागलुङ बजार आइपुग्न ५ घण्टा लाग्थ्यो । उनी ३ घण्टामै आए । गाउँपालिकाको गाडी लिएर रातारात काठमाडौंका विभिन्न अस्पताल र स्वास्थ्य मन्त्रालय, सामग्री पाउने स्थानमा धाए ।
३ दिनसम्म चाहर्दा राजधानीमा खाने र बस्ने ठाउँ कतै पाउन सकेनन् । ‘बजार कतै खुला थिएन, नचिनेकोलाई खानबस्न कसले दिन्थ्यो र ?’ पाइजाले भने, ‘बागलुङदेखि आएको भनेर अस्पतालका कर्मचारीसमेत बोल्न डराउँथे ।’ यो समस्या उनले पहिलो चरणमा मात्रै भोगेका होइनन् ।
बैसाखदेखि अहिलेसम्म ५ पटक काठमाडौं, ८ पटक पोखरा, दैनिकजसो सदरमुकाम आउँदा पनि भोगेका छन् । भ्याएको बेला खाना पकाएर हट्केशमा राखेर हिँड्ने गरेको उनले बताए । अधिकांश समय पानीको भरमा हिँड्नु परेको उनको अनुभव छ ।
गत वर्षको संक्रमणमा समेत बागलुङमा नेपालकै पाँचौं र छैठौं संक्रमित भेटिएका थिए । यो वर्षको पहिलो संक्रमण पनि बागलुङमा बढी देखिएको थियो । त्यसैले अझै पनि छिमेकी जिल्ला पुग्दा बागलुङका मानिस देखेर तर्सन्छन् । यात्रामा समस्या होला भनेर गाडीमै ओड्ने कपडा, सुख्खा खाना र पानीका बोतल राख्ने उनले बताए । कोरोनासहित सबै प्रकारका औषधी, उपचार र काममा खटिँदा उनको गाँस र बास गाडीमै हुन्छ । दिनभरी काम गर्ने, रातमा यात्रा गर्ने उनको दैनिकीजस्तै छ ।
गाउँपालिकाले २० बेडको अक्सिजन सहितको आइसोलेसन बनाएपनि पालिकको सबै काममा उनी कुद्ने गर्छन् । काठमाडौ, पोखरा, बुटवलसहित सदरमुकामको काम भ्याएर फर्कंदा पनि उनी घर जान पाउँथेनन् । गाउँपालिका केन्द्रदेखि ४ घण्टा पर उनको घर छ ।
तत्काल बिरामी ओसार्नुपर्ने भएकोले उनी अधिकांश दिन आइसोलेसनमै बस्ने गरेका छन् । कोरोना संक्रमणले सिंगो गाउँभरि बिरामी पर्न थालेपछि उनले ७६ किमी पश्चिमको बडिगाडबाट दैनिक ३ पटकसम्म संक्रमित बोकेर अस्पताल आउँथे । गाउँपालिकामा ३ सयबढी संक्रमित भए । एकै घरका चार जनासहित यहाँका मात्रै २० जनाको मृत्यु भयो ।
घर घरमा संक्रमित भएकोले सामान्य मानिस पनि डराएर बिरामी पर्न थालेपछि सहयोगीको खाँचो थियो । दैनिक घरघरमा पुगेर बिरामीको स्याहार सुसार गर्ने काममा समेत उनी खटिन्छन् । गाउँपालिकाको कोरोना नियन्त्रण र रोकथाम सम्बन्धी सबै काममा अहिलेसम्म उनी सक्रिय सहभागि भएको शाखा प्रमुख चुडामणि कँडेलले बताए ।
पाइजा २ वर्षदेखि गाउँपालिकामा कार्यरत छन् । आइटिएफ तेक्वान्दोका प्रशिक्षक भएपनि उनले सवारी चालकको काम समेत गर्छन् । तर उनी सवारी चलाउनमा मात्रै सीमित छैनन् । कोरोना संक्रमितको स्वाब संकलन गरेर पिसिआरका लागि लैजाने, संक्रमितको व्यवस्थापन, उपचार र उनीहरुको परिवारको राहत बितरणमा पनि खटिइरहेको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले बताए ।
‘सामान्य कर्मचारी जस्तो छैनन्, उनी सामाजिक अभियान्ता पनि हुन्,’ उनले भने, ‘संक्रमणबाट सामान्ज जनजीवन बनाउन स्वास्थ्य शाखा जत्तिकै पाइजाको पनि भूमिका छ ।’ उनको भूमिकाबाट प्रभावित भएर नवौं गाउँसभाले सम्मानसमेत गरेको छ । कोरोना संक्रमित ओसार्नु पर्दा उनले एम्बुलेन्स पनि चलाउँछन् । गाउ“पालिकको प्रशासनिक काममा हिँड्दा कार्यालयको गाडी चलाउँछन् ।





