पोखरा, १० साउन– करिब २ वर्ष अघि पोखरा महानगर १ मा ‘सरसफाइमा आमाहरु कार्यक्रम’ विषयक कार्यक्रमको आयोजना गरियो । तर, उक्त कार्यक्रमको बिल महानगरमा पेश गर्दा अनुचित ढंगले बढी खर्च भएको देखाइयो । कार्यक्रम थियो, नालासहितको बाटो बनाउने ।
वडाध्यक्षकै मिलेमतोमा अनावश्यक फर्जी बिल बनाएर बढी खर्च देखाएको आरोप वडाध्यक्षमाथि नै लाग्यो । उक्त प्रकरण महानगरमा पुगेपछि महानगरले स्पष्टिकरण सोध्दै रकम घटाएर भुक्तानी दिएको छ । वडामाथि बाटो निर्माणको क्रममा निस्किएका ढुंगाजन्य पदार्थसमेत नियमविपरित क्रसर उद्योगलाई बेचेको आरोप लागेको छ ।
वडा १ मा खनिएको नालीबाट निस्किएको ढुंगा लगायतका पदार्थ नियमविपरित क्रसर उद्योगलाई बेचेको आरोप लागेपछि महानगरले स्पष्टिकरण सोधेको हो । पत्रमा नालीबाट निस्किएको ढुंगाजन्य पदार्थ नियमविपरित क्रसरलाई दिनुको यथार्थ विवरण बुझाउन आग्रह गरिएको छ । पत्रमा पोखरा महानगरका निमित्त प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यको हस्ताक्षर छ ।
नियोजित ढंगले स्पष्टिकरण सोधियो ः वडाध्यक्ष
स्पष्टिकरण सोधिएको पत्र हात परेपछि पोखरा १ वडाध्यक्ष शारदा पराजुलीले महानगरले नियोजित रुपमा पत्र पठाएको प्रतिक्रिया दिएकी छन् । उनले आफूहरुले महानगरलाई खर्चको यथार्थ विवरण उपलब्ध गराउनु अगावै सुनियोजित ढंगले पत्र पठाइएको दाबी गरिन् ।
‘अरु पत्र आउन एक हप्तासम्म लाग्थ्यो । अहिले मेयर साब नभएको मौकामा तत्कालै हस्ताक्षर गरी पत्र पठाइयो । महानगरबाटै नियोजित रुपमा यो आएको हो,’ उपभोक्ता समितिको छलफलमा उनले भनिन्, ‘क्रसरलाइ बेचेको होइन राख्ने ठाउँ नभएर लगिएको हो । हामीलाइ आवश्यक पर्दा ल्याइन्छ ।’
वडाध्यक्ष पराजुलीले ठाउँ अभावको कारण त्रसर उद्योगलाई ढुंगाजन्य पदार्थ दिनुपरेको तर्क राखेकी छन् । तर, उनको कुरामा सत्यता भने देखिँदैन । वडाकै टुँडिखेलदेखि विभिन्न ठाउँमा सरकारी जग्गा खाली छ । वडामा खाली ठाउँ हुँदाहुँदै नालीबाट झिकिएको ढुंगाजन्य पदार्थ हेमजा पु¥याएपछि भने आर्थिक चलखेल भएको स्रोतको दाबी छ ।
सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत लामपाटा, हरिचोक टुडिँखेलसम्म ढल र बालज्योतिदेखि पण्डित पैदल मार्ग निमार्ण गर्न लागिएको हो । वैशाख २९ गते योजना कार्यान्वयन सम्झौता भएको थियो । साढे १९ लाख रुपैयाँ बजेट परेको उक्त आयोजना वडाध्यक्ष पराजुलीका आफन्तको देउपुर भगवति कन्ट्रक्सनलाई जिम्मा दिइएको थियो । उक्त निर्मार्ण कम्पनीलेसमेत असारदेखि बीचमै काम छोडेर ‘लापत्ता’ भएको छ ।
नाली निर्माणको काम रोकिएपछि स्थानीय रोजी पराजुलीको संयोजकत्वमा रहेको उपभोक्ता समितिले काम तत्काल हुनुपर्ने भन्दै वडासमेत पुगेका थिए । तर, निमार्ण कम्पनीले भने आफूले माइजु (वडाध्यक्ष)लाई सबै कुरा भनेको भन्दै टार्दै आएका छन् ।
मापदण्ड विपरितको क्रसरमा वडाको साथ
पोखरा २५ हेम्जामा रहेको उक्त जेके क्रसर मापदण्ड विपरीतको क्रसर हो । वडाले नाली निमार्णमा आवश्यक कच्चा पदार्थको जिम्मासमेत सोही क्रसरलाई दिएको थियो । ८ महिना अघि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गर्ने क्रममा उक्त क्रसर मापदण्ड विपरीत भेटिएको थियो ।
क्रसर पराजुलीको आफन्तको हो । उत्त क्रसर नदीबाट ३ सय मिटरमात्रै टाढा रहेको पाइएको थियो । क्रसरले नदीको मापदण्ड पालना नगरेको भेटिएको थियो । क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएपनि २०७२ सालदेखि नवीकरण नगरिएको अनुगमनको क्रममा भेटिएको थियो ।





