बागलुङ, १२ साउन– डेढ वर्षदेखि निशेधाज्ञाको मारमा होटल व्यवसायी परेका छन् । यो मारमा पर्दा पनि राज्यले वास्ता नगरेको भन्दै बागलुङका होटल व्यवसायीले सबै व्यवसायीलाई खोपको माग गरेका छन् ।
सोमबार ज्ञापन पत्र बुझाएर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी र केन्द्रको सिसिएमसीको समेत ध्यानाकर्षण गराएका हुन् । उक्त ध्यानाकर्षणको एक हप्ताभित्र कार्यान्वयन नभएमा प्रशासन घेराउ लगायतका आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताए ।
होटल व्यवसायीलाई सहुलियत कर्जाको माग गर्दा नपाएको, व्यापार नभएर सटर बन्द गर्दा भाडा छुट नदिईएको, बन्दको बेला पनि कर तिर्न बाध्य भएको उनीहरुको गुनासो छ । स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय संचालन गर्न नदिएकोमा उनीहरु पीडित भएको बताए ।
‘अरु व्यवसाय खोल्न पनि हुने, अरु व्यवसायीलाई खोप लगाइदिन पनि हुने’ होटल संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले भने, ‘होटल खोल्नै नहुने किन ?’ व्यवसाय खोल्न नपाएकै कारण बिस्थापित भएका, ऋण तिर्न नसकेर हैरान भएका व्यवसायीको हितमा कुनै कार्यक्रम नल्याउनु दुर्भाग्य भएको उनले बताए ।
एक महिनादेखि निशेधाज्ञा खुकुलो भएको छ । यो समयमा यातायात संचालन भैसकेकोले पाहुना आएर पनि राख्न नपाएको उनले गुनासो गरे । केही व्यवसायीले भने प्रशासन र प्रहरीको दबावमा बिरामीसमेत राख्न बाध्य भएको टिप्पणी गरेका थिए । उनीहरुले सबै व्यवसायी र कामदारले खोप लगाउन पाएमा सेवा संचालन गर्न सहज हुने बताएका छन् । उनीहरुले प्रशासन र सरकारको ध्यानाकर्षण गराउँदै होटललाई संवेदनशिल क्षेत्रमा समावेश गर्न माग गरेका छन् । उनीहरुले साउन १६ गतेसम्म पनि खोप लगाउन नपाएमा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
होटल व्यवसायी महासंघ गण्डकीले खोप नपाएमा प्रशासनमा धर्ना बस्ने र चाबी बुझाउने चेतावनी दिएका छन् । उनीहरुको चेतावनीपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले आएको खोपबाट प्राथमिकता पार्न पहल गर्ने बताए । ‘सरकारले मापदण्ड बनायो भने हामीलाई सहज हुन्छ, स्थानीय रुपमा मापदण्ड बनाउँदा विवाद बढ्न सक्छ’ कार्कीले भने, ‘साउन महिनाभित्र भने सबैले खोप पाउने अवस्था हुन्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले पदबहाली गरेकै दिन पनि सबैलाई खोप उपलब्ध गराउने घोषणा गरेका थिए । विभिन्न देशबाट खोप अनुदान आउन थालेको छ । बागलुङमा पनि १५ हजार खोप स्टक रहेकोले मापदण्ड बनाएर लगाइने उनले बताए ।
अध्यक्ष राजभण्डारीका अनुसार, जिल्लामा झण्डै २ सय ५० होटल संचालनमा छन् । तीमध्ये आधाबढी सदरमुकाममा र अन्य ग्रामीण क्षेत्रमा संचालित छन् । जिल्ला तहमा आएको खोप लगाउँदा पहुँचवालाले लगाएको टिप्पणी समेत भएको छ । ‘सिडिओ, स्वास्थ्य र प्रहरीका प्रमुखले दबाव दिएमा जसले पनि लगाउन पाउने, तर सिधै खानपानमा होमिनुपर्ने हामी जोखिममा छौं’ व्यवसायी ललिता थापाले भनिन्, ‘अन्य व्यवसायीलाई जोखिमको भनेर खोप लगाइयो, होटल किन जोखिममा परेन ?’ राजनीतिक नेता, मन्त्री आउँदा भने प्रशासनले खाना बनाइदिन दबाव दिने गरेको उनले बताइन् ।





