बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘टिनको छानोले लाज कसरी छोप्ने ?’

‘टिनको छानोले लाज कसरी छोप्ने ?’

जस्तापाताको भरमा शौच बस्न बाध्य छन् परीक्षार्थी


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७८, बुधबार

पोखरा, १४ साउन– त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पस हातामा २ वटा यस्ता शौचालय छन् । जसलाई शौचालय मान्न विद्यार्थी तयार छैनन् । क्याम्पसको खुला ठाउँमा चारैतर्फ जस्ता पाताले बारिएका छन् । एउटा छेउबाट भित्र छिर्न ठाउँ राखिएको छ । तर, ढोका राखिएको छैन ।
यी २ शौचालय एउटा क्याम्पस भवनसँगै जोडिएको छ भने अर्को खुला चौरमा छ । शौचालयभित्र हुनुपर्ने सामाग्री केही पनि छैन । जस्ता पाताले बारिएको शौचालयभित्र २ वटा ब्लक राखिएको छ । तर, खाल्डोसमेत छैन । त्यही ब्लकमा बसेर शौच गर्न बाध्य छन् देशकै ठूलो पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरु ।
शौचालयमा पानी र साबुन अनिवार्य हुनुपर्ने हो । कोरोना भाइरसको महामारीका बेला त झनै चाहिने हुन् । खाल्डो समेत नभएको खुला चौरमा शौच गर्न जाँदा विद्यार्थीले सावुन लगाएर हात धुन समेत पाउँदैनन् । शौच गर्न समेत यस्तो अप्ठ्यारो अवस्था क्याम्पस प्रशासनले वर्षौंदेखि लादेको विद्यार्थीहरुको भना छ ।
कोभिडका कारण अघिल्लो वर्षदेखि रोकिएका स्नातक तहका परिक्षा देशभर चलिरहेको छ । पृथ्वीनारायण क्याम्पसले परिक्षा दिन आउने विद्यार्थीका लागि उक्त शौचालय बनाएका हुन् । पृथ्वीनारायण क्याम्पसमा अहिले ५ हजार बढी विद्यार्थीले स्नातक पहिलो वर्षको परीक्षा दिँदैछन् । परीक्षा दिने विद्यार्थीलाई क्याम्पसको पक्की शौचालय प्रयोग गर्न प्रशासनले रोकेको छ ।
स्नातक पहिलो बर्षको परिक्षा दिन गएकी विद्यार्थी विनिता पौडेल क्याम्पसको शौचालय देखेर हैरानीमा छिन् । ‘यस्तो शौचालय जान एकदमै अप्ठ्यारो लागेको छ’, उनले भनिन्, ‘सकेसम्म यस्तो शौचालय जान नपरोस भनेर जाँदैनौं ।’ रजश्वला भएका विद्यार्थी त झनै यस्तो शौचालय प्रयोग गर्न नसक्ने उनले बताइन् ।
विनिताका अनुसार शौचालय जाँदा पनि बाहिर अर्को साथी राख्नुपर्छ । शौचालयको ढोका छैन । अर्को साथीलाई बाहिर मान्छे हेर्न राखेर मात्रै भित्र शौच गर्नुपर्ने अवस्था रहेको विनिताले बताइन् । परीक्षा सुरु भएको पहिलो दिनमै ५, ७ जना विद्यार्थी लाइनमा बसेर यस्तो शौचालयमा शौच गर्नुपरेको उनको अनुभव छ ।
अर्कोतर्फ पूरुष शौचालयको अवस्था झनै खराब छ । महिला शौचालय भित्र मान्छे नदेखिने गरी जस्ता पाताले बारिएको छ । पुरुष शौचालयमा त्यति पनि बारिएको छैन । जस्ता पाताले शौचालयको विच भाग मात्र बारिएको छ । शौचालयको तल्लो भाग र माथिल्लो भाग ह्वांगै छ ।


जसका कारण शौचालय गएको विद्यार्थीलाई टाढैबाट मान्छे चिनिने गरी देख्न सकिने परिक्षा दिँदै गरेका अर्का विद्यार्थी सौगात तिमिल्सिनाले बताए । ‘यस्तो शौचालय बनाउन नहुने हो, फोहोर पनि उस्तै छ,’ सौगातले भने, ‘म त सकेसम्म शौचालय नै जाँदिन ।’
कोरोना महामारीका बेला स्वास्थ्य मापदण्ड पनि पूरा नगरी यस्तो शौचालय बनाएको सौगातले बताए । त्यहाँ पानी र साबुन छैन, शौच गर्न सामान्य खाल्डो समेत छैन । त्रिभुवन विश्वविद्यालयकै सबैभन्दा ठुलो क्याम्पसमा विद्यार्थीलाई यस्तो शौचालयमा शौच गर्न पठाउनु क्याम्पस प्रशासनको मात्र नभई विश्वविद्यालयकै बदनाम भएको विद्यार्थीहरुको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयले जारी गरेको परीक्षा सम्बन्धी मापदण्डमा एउटा कक्षामा बढीमा २५ जना मात्र विद्यार्थी राख्न भनेको छ । एउटा डेस्कमा एक जना मात्र विद्यार्थी राख्न भनेको छ । पृथ्वीनारायण क्याम्पसले उक्त मापदण्ड पनि पालना नगरेको विद्यार्थी सौगातले बताए । उनका अनुसार अहिले एउटा कक्षामा ४० जना विद्यार्थी राखेर परिक्षा चलाएको छ । एउटा डेस्कमा २ जना विद्यार्थी राखेको छ ।
एमनेस्टी इन्टरनेसनल नेपाल बाराही युथ नेटवर्क बुधबार क्याम्पस प्रमुख डा. सरोज कोइरालालाई ज्ञापन पत्र बुझाएर यस्ता शौचालय प्रयोग नगर्न आग्रह गरेको छ । सामान्य स्वास्थ्य मापदण्ड समेत ख्याल नगरी विद्यार्थीलाई यस्तो असुरक्षित शौचालय पठाउनु गलत भएको भन्दै नेटवर्कका संयोजक अश्विनकुमार कार्कीले विद्यार्थीको स्वास्थ्य संवन्धी मौलिक हक पालना गर्न र सुरक्षित शौचालय प्रयोग गर्न आग्रह गरेका छन् ।
बिसौं वर्षदेखि यस्तै छ : क्याम्पस प्रमुख
क्याम्पस प्रमुख डा. कोइरालाले बिसौं वर्षदेखि परीक्षामा यस्तै शौचालय प्रयोग हुँदै आएको बताए । ‘पहिले पहिले झन् भकारीले बारेर अस्थायी शौचालय बनाइन्थ्यो’, उनले भने, ‘विद्यार्थीले चिट चोर्न नपाउन् भनेर यस्तो शौचालय बनाएका हौं ।’
विद्यार्थीका लागि नजिकै धारा भएको भन्दै उनले बिहीबारदेखि त्यही अस्थायी शौचालयमा पनि बाल्टिनमा पानी र साबुन राखिदिने बताए । बाहिर रहेको धारामा साबुन राख्दा विद्यार्थीले ५ मिनेटमै हराइदिने उनले बताए । क्याम्पसमा अहिले १४ हजार विद्यार्थी अध्यनरत छन् ।
पक्की शौचालय खोल्यो भने विद्यार्थीका चिट शौचालयको प्यानमा फाल्ने र सफा गर्न समेत गाह्रो हुने उनले बताए । ‘पक्की शौचालय खोल्दा विद्यार्थीले चिटिङ गर्छन्, चिट प्यानमै फाल्दिन्छन्,’ उनले भने, ‘यो समस्या गम्भिर छ, त्यही भएर पक्की शौचालय खोल्न सक्दैनौं ।’
कोरोना भाइरसका कारण परिक्षामा सहभागी विद्यार्थीलाई चेकजाँच गर्न नसकेको डा. कोइरालाले बताए । ‘कोरोना आउनुअघि गेटमै चेकजाँच गरेर मात्र परिक्षार्थी भित्र आउनुहुन्थ्यो,’ उनले भने, ‘अहिले त्यसरी चेकजाँच गर्न सकिँदैन ।’
परीक्षा दिन आएका विद्यार्थी रजश्वला र दिसा बस्न जाने विद्यार्थीलाई भने पक्की शौचालय खुलाइदिएको उनले दाबी गरे । ‘यस्ता विद्यार्थीले निरीक्षकलाई भनेर पक्की शौचालय जान सक्छन्,’ उनले भने, ‘अनावश्यक रुपमा यो विषय उप्काउन जरुरी छैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->