पोखरा, १६ साउन– नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान बलियो बनाउन आफू क्रियाशील भएको बताएका छन् ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा शुक्रबार आयोजित कार्यक्रममा डा. प्रसादले कर्मचारीको हकहित र उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरेरै छाड्ने बताए ।
इकाई समिति पोखराका अध्यक्ष अनील शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरामा जाईकाको योजना सम्पन्न भएपछि पोखरेली उपभोक्ताको हितमा लाग्न कर्मचारीलाई डा. प्रसादले निर्देशन दिए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिका महासचिव केदार धमलाले संस्थानमा कार्यरत २ सय ५० जना करार कर्मचारीको भविष्य सुनिश्चित भएमात्र संस्थानले गति लिने बताए । इकाई समितिका सचिव दिपेन्द्र बानियाको सञ्चालन तथा उपाध्यक्ष रेखा केसीको स्वागत मन्तव्यमा भएको सभामा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले श्रमिकका समस्या नभएको प्रतिष्ठानमात्र अब्बल र उपभोक्तामैत्री हुन सक्ने बताए ।





