बागलुङ, १८ साउन– निशेधाज्ञा केही खुकुलो भएपछि शनिबार र सार्वजनिक बिदाको दिनमा पञ्चकोट र आसपासका क्षेत्रमा घुम्न जानेको भीड लाग्न थालेको छ ।
यहाँ खुलेका पसल र रेष्टुरेन्टमा व्यवसाय पनि बढ्न थालेको छ । असार मसान्तअघि नै यहाँ निर्माण गर्ने भनिएको संसारकै अग्लो कलसको पहिलो तल्ला निर्माण भैसकेको छ । आर्कषक गन्तव्य बन्ने संभावना देखिएपछि पञ्चकोट क्षेत्रमा गाउँ छाडेकाले पनि फर्केर पेशा व्यवसाय गर्ने योजना बनाएका छन् ।
गाउँको चहलपहल देखेपछि ३५ बर्षअघि बसाई सरेर चितवनको गीतानगर गएका बागलुङ नगरपालिका–६ भान्साका बिद्यापति शर्माले पुरानै जग्गाजमिन किन्ने तयारी गरेको स्थानीयले बताए । वडा अध्यक्ष खिमराज सापकोटाले पनि शर्मा जस्तै धेरै मानिसले गाउँ फर्कने तयारी गरेको बताए । हरेकदिन जग्गा किनेर राख्न खोज्नेको सम्पर्कले फुर्सदै नपाएको सापकोटाको भनाई छ ।
दैनिक सयौं आन्तरिक पर्यटक आउन थालेको पञ्चकोटमा कोरोना कहरले असर गरेको हो । तर आर्थिक बर्ष २०७७÷०७८ मा बागलुङ नगरपालिका, प्रदेश सरकार र अन्य श्रोत जुटाएर झण्डै १ करोडको पूर्वाधारसमेत बनेको छ । दिर्घकालिन रुपमा पर्यटकीय गन्तव्य बन्ने भएपछि भान्सा र सिम गाउँका अधिकांस घरमा युवाहरुले रेष्टुरेन्ट बनाएका छन् ।
बिदेशमा बसेर पञ्चकोट निर्माणमा १३ लाख सहयोग गरेका सूर्य सापकोटाले गरुणशिला नजिकै जग्गा किनेका छन् । ‘बजारमा व्यवसाय गर्नेहरु पनि घडेरी किन्न आइरहेका छन्’ स्थानीय लक्ष्मी शर्माले भनिन्, ‘जग्गाको मूल्य बढेको छ ।’ यहाँको जग्गाको मूल्य समेत आकासिएको उनले बताइन् । ५ वटा कोट मिलाएर पञ्चकोट नामाकरण भएको हो । हाल मुख्य पूर्वाधार निर्माण भैरहेको ताराजालकोट हो । यहादेखि माथिल्लो कारीकोट, त्यसमथी माझकोट र रायरायकोट छन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट छ ।
५ वटा कोटलाई पर्यटन र धार्मिक गन्तव्य बनाउन लागिएको हो । ‘पाँचवटै कोटको संयुक्त क्षेत्रलाई जुलोजिकल पार्क बनाउने योजना पनि छ’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘संघिय सरकारको साझेदारी कार्यक्रममार्फत बागलुङ नगरपालिकाले ५ करोडको कार्यक्रम पञ्चकोट आसपासमा संचालन गरेको छ ।’ गत गतवर्ष करोड लगानी भएकोमा यस्ता बजेटले निरन्तरता पाउने उनको भनाई छ ।





