बागलुङ/झण्डै ३० वर्षअघि सडक आउँदाको कालोपत्रे डोजर लगाएर भत्काएपछि पोखरा बागलुङ सडकको अधिकांस खण्ड मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको भनाइमा पुननिर्माण र मर्मत भइरहेको छ ।
सडक डिभिजन कार्यालयले सदरमुकामको ट्राफिक चोकदेखि रामरेखाहुँदै कालिका मन्दिरसम्मको तीन किमी सडक पनि रिसिलिङ गरायो । बागलुङ नगरपालिकाले पनि बजारका चोक सुधार र सहरी सडक कालोपत्रे गरायो । तर ती सबै स्थानको प्रगती विवरण नबन्दै सडक खाल्डैखाल्डा, हिलो र जस्ताको त्यस्तै भैसकेको छ ।
सडक र लोकमार्ग आयोजना कार्यालयले अलकत्र पोखेर गिटी बिच्छ्याउने प्रक्रियालाई रिसिलिङ गरेको भन्ने गरेका छन् । कालोपत्रे गर्नुपर्ने अधिकांस सडकमा केही बर्षदेखि यस्तै एउटा गिटीको पत्र राख्ने काम चलिरहेको छ । त्यसैले बनिनसक्दै सडक भत्केर खाल्डैखाल्डा भएको हो ।
बाङगेचउरदेखि रामरेखाहुँदै उपल्लाचौर, कुँडुलेसम्मको ५ किमी सडकको समेत उस्तै छ । केही खण्डमा कालोपत्रे र केही खण्ड रिसिलिङ गरिएको ठेकेदारले बताए । रिसिलिङ भएको अधिकांस स्थान जीर्ण भैसकेको छ । कतिपय स्थानमा हिलाम्मे भैसकेको छ । यो सडकमा सडक बोर्ड नेपालले ३ करोड खर्चेको छ ।
ठाउँ ठाउँमा खाल्डा परेका छन् । कतै हिलाम्मे भएको छ । घाम लागेको दिन धुलाम्मे भएर बस्नै नसक्ने भएको बागलुङ नगरपालिका २ का संजय श्रेष्ठले बताए । ‘एक महिना पुगेको छैन, धुलो र हिलो भैसक्यो, बरु पहिलाकै ठिक थियो’ श्रेष्ठले भने, ‘नाटक गरेर करोडौ रकम खर्च नगरेको भएपनि हुन्थ्यो ।’ धुलोले रेष्टुरेन्टमा खाजा खुवाउनसमेत सास्ती भएको उनले गुनासो गरे ।
बागलुङ नगरपालिकाको १५ लाख बजेटमा बजार क्षेत्रमा कालोपत्रे गरिएको समेत हिलाम्मे भैसकेको छ । धौलागिरि क्याम्पस चोकदेखि जिपपार्क, श्रीनगर टोलतर्फको सडक १५ दिनमै हिलाम्मे भएको हो । ‘अब त राम्रो भयो, हिलो र धुलो खानु पर्दैन भनेका थियौं, फेरी उस्तै भयो’ स्थानीय थानेन्द्र गौतमले भने, ‘काम कस्तो भयो भनेर अनुगमन नगर्दा राज्यको करोडौं खर्च हुने तर सडक नटिक्ने भएको हो ।’ काम भैरहेको समयमा दक्ष प्राविधिकको अनुगमन चाहिने उनले बताए ।
नगरपालिकाले चोक सुधार कार्यक्रममा गत वर्ष झण्डै एक करोड खर्चेको थियो । तर ती चोकमा यो बर्षपनि ५० लाखबढी खर्चेको छ । तर साउन नलाग्दै हिलाम्मे भएपछि उपभोक्ताले भ्रष्टाचार भएको टिप्पणी गरेका छन् । ‘गुणस्तरहिन काम गर्नेलाई कारवाही गर्ने र क्षतिपूर्ति भराउने व्यवस्था गर्नुपर्छ’ उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘भ्रष्टाचार ठहर भयो भने ठेकेदारको लाइसेन्स खारेज गर्नुपर्छ ।’
ट्राफिक चोकदेखि रामरेखा, बाङगेचउरहुँदै कुँडुलेतर्फको रिसिलिङको काम फेवा विएम संयुक्त निर्माण कम्पनीले ३ करोडमा गरेको हो । बजारभित्रको कालोपत्रे भने आरएस निर्माण सेवाले गरेको थियो । फेवा विएस संयुक्त निर्माण कम्पनीका स्थानीय प्रतिनिधि बिमलेस आचार्यले काम राम्रो नभएको स्विकारे । उनले सडक विभागबाटै कालोपत्रेको योजना बनाउनु पर्नेमा रिसिलिङ राख्दा नटिकेको बताए । ‘सडकको बेस राम्रो भएमात्रै यो विधि टिक्छ, नत्र कालोपत्रेनै राम्रो हो’ उनले भने, ‘राज्यले खर्च कटाउन खोज्दा कमजोर भएको हो ।’ ३ करोडमा गरिएको काम गुणस्तरीय बनाउनु परेमा १५ करोडबढी चाहिने उनले बताए ।
सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर मुकुन्दप्रसाद लामिछानेका अनुसार सडक गुणस्तर नभएपछि ठेकेदारलाई भुक्तानी रोकेको बताए । ‘काम गरेको भोलीपल्टै स्थानीयबाट गुनासो आएको थियो, त्यसैले केही भुक्तानी रोकेका छौं’ लामिछानेले भने, ‘म्याद सकिएकोले ठेकेदारलाई म्याद थपेर भएपनि भदौमा गुणस्तरीय बनाउन लगाउनुपर्छ ।’ असार मसान्तमा म्याद सकिएकोले ठेकेदारले गिटी बिच्छ्याएर काम सकेको भुक्तानी मागेका थिए ।





