बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

जग्गा नपाउँदा रोकिए योजनाहरु

जग्गा नपाउँदा रोकिए योजनाहरु


  • ढोरपाटन सम्वाददाता
  • साउन २० २०७८, बुधबार

पोखरा/गण्डकी प्रदेश विकास समस्या समाधान समितिले जग्गाप्राप्तिमा समस्या हुँदा प्रदेश गौरवका आयोजना बढ्न नसकेको निचोड निकालेको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा गण्डकी नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर रघुनाथ काफ्लेले प्रदेश गौरवका आयोजना सञ्चालनमा देखिएका समस्या तत्काल पहिचान गरी काम अगाडि बढाउनु पर्ने औंल्याउँदै जग्गाको समस्या सल्टाउनुपर्नेमा जोड दिएका हुन् ।
काफ्लेले स्रोतको उपलब्धता, प्राविधिक क्षमता, निजी क्षेत्रसँगको सहकार्यको मोडल प्रष्ट नहुनु र अवधारणागत अस्पष्टता पनि रहेको बताए । काफ्लेले पुँजीगत खर्च बढ्दो रहे पनि काम गर्दै जाँदा समस्याहरु थपिँदै गएको बताए । उनले गण्डकीसँग पर्यटनको लाभ लिन सकिने सम्भावना रहेको, गण्डकीमा विश्वविद्यालय स्थापना, प्रदेश प्रशिक्षण प्रतिष्ठान जस्ता संरचना स्थापना हुनु सकारात्मक पक्ष रहेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री एवं समितिका अध्यक्ष कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक चाप र संवैधानिक बाध्यताका बीच चालु आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी कार्यान्वनमा जुटेको बताए । विकासका सवालमा प्रदेश सरकारले आफ्नो तर्फबाट सबैसँग हातेमालो गरी सँगसँगै हिँड्ने वातावरण तयार गर्ने विश्वास दिलाउँदै उनले गत आर्थिक वर्षमा पुँजीगत खर्चमा करिब ८५ प्रतिशत प्रगति हासिल भएको बताए ।
प्रथम आवधिक योजनाले पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संशाधन र सुशासनलाई प्राथमिकताका रुपमा लिएको भन्दै उनले यससँग जोडिएका अन्तर्सम्बन्धित क्षेत्रको विकासमा पनि यसले उत्तिकै जोड दिएको बताए ।
१०.२ प्रतिशतको औसत आर्थिक बृद्धिको लक्ष्य लिएको प्रथम आवधिक योजनाले निर्धारण गरेका लक्ष्य भेटाउन १० खर्ब १२ अर्ब लगानी गर्नुपर्ने प्रक्षेपण समेत गरेको छ । यो लगानीमा ३५.६ प्रतिशत सरकारको हिस्सा रहने र बाँकी ६४.४ प्रतिशत निजी क्षेत्रको लगानी आउने अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘यसले हाम्रो विकास अभ्यासमा निजी क्षेत्रको संलग्नता र लगानीलाई उच्च महत्व दिएको देखाउँदछ ।’
प्रदेश प्रमुख सचिव डा. दामोदर रेग्मीले संघीयतालाई संस्थागत गर्ने गरी काम गर्नुपर्ने बताए । ३ तहका सरकारको क्षेत्राधिकार प्रष्ट भएकाले त्यसै अनुसार कार्यसम्पादन गरे कुनै समस्या नआउने बताए । कार्यक्रममा नगरपालिका संघ गण्डकी संयोजक दीपकबाबु कँडेलले प्रदेश सरकारले ससाना योजनामा ध्यान नदिन नहुने बताए । जिल्ला तहमा कार्यालय खोलेर स्थानीय सरकारलाई कमजोर नबनाउन उनले आग्रह गरे ।
गाउँपालिका महासंघका प्रदेश संयोजक अहिले जनताले विकासभन्दा पनि बाँच्न चाहेको बताए । उनले भने, ‘खोप चाहिएको छ पहिला, यसलाई मुख्यमन्त्रीले ध्यान दिनुप¥यो ।’ बजेट पर्याप्त हुने हो भने छिटो विकास गर्न सकिने भन्दै उनले गत वर्ष जुन खालको बजेट सिलिङ गयो अहिले पनि त्यही भएको बताए ।
वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँणले संविधानमा उल्लेख गरिएका अनुसूचीमा ख्याल गरे कुनै समस्या नआउने भनाइ राखे । कार्यक्रममा प्रदेशका ११ वटै मन्त्रालय र प्रदेश सभाका सचिवले वार्षिक प्रगतिका साथमा भोग्नु परेका समस्याका बारेमा प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->