बागलुङ/ परम्परागत घण्टाकर्ण पर्व शुक्रबार बागलुङका नेवार समुदायले मनाएका छन् । ‘नेवा ल्याम्ह पुच’ बागलुङले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको हो । रेपाई सकिएको उपलक्षमा नेवार समुदायमा यो पर्व मनाउने प्रचलन छ । तर यो वर्ष पर्व मनाउँदा कोरोनाका कारण कारण भिड र उल्लास छैन ।
विभिन्न शक्तिपीठमा पूजाआजा गरी घण्टाकर्ण मनाउने परम्परा रहेपनि यस पटक कोरोनाको कारण प्रभावित भएको छ । नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन छ ।
नेवारी समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत दिइन्छ ।
कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धान्नकै लागि भएपनि पर्व मनाएको नेवा ल्याम्ह पुच बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए । कोरोनाको जोखिम हुन नदिन सुरक्षा सावधानीसहित घण्टाकर्ण पर्व मनाइएको शंखधर सहकारीका सचिव युक्तजंग राजभण्डारीले बताए ।
पहिले–पहिले बागलुङ बजारका चोकचोकमा घण्टाकर्ण निकाल्ने गरिन्थ्यो । परम्परा जोगाउनै धौंधौं परेका बेला कोरोना महामारीले थप प्रतिकूलता सिर्जना गरेको उनको भनाइ छ ।
घण्टाकर्ण नाम गरेको नरभक्षी राक्षसको स्वरूप बनाई दिनभर नारायण चोकमा उभ्याइएको थियो । मकैको डाँठ, पराल आदि प्रयोग गरेर राक्षसको आकृति झल्कने तीनखुट्टे बुख्याँचा बनाउने गरिएको छ ।





