बागलुङ/गलकोट नगरपालिका र स्थानीय मिलेर गलकोटको कोतघर संरक्षण थालिएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको संरक्षण गरेर पर्यटक भित्राउने लक्ष्यसमेत राखिएको गलकोट का अध्यक्ष वीरजंग भण्डारीले बताए ।
नगर विकास कोष, गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, विदेशमा बस्ने गलकोटे युवा समेतले कोतघर संरक्षणका लागि लगानीसमेत गरेको भण्डारीले बताए । संरक्षण अभियानका लागि मध्यपहाडी लोकमार्गदेखि ६ किलो मिटर सडकसमेत स्तरीय बनाउने क्रम चलेको छ । एउटा कल्भर्ट र केही घुम्ती मिलाउने काम भइसकेको हो ।
सडक व्यवस्थित र कालोपत्रेसम्म गर्ने योजना व्यवस्थापन समितिका सदस्य झरसिंह खत्रीले बताए । ‘घुम्न आउनेलाई रमाउने वातावरणका लागि काम गरिरहेका छौं,’ खत्रीले भने, ‘नाली र कल्भर्ट समेत निर्माण भैसकेको छ, आगामी वर्षसम्म सबै ग्राभेल गरि सकिन्छ ।’
सहज जान आउन सकिने भएपछि कोतघरको पर्यटकीय महत्व बढ्ने उनले बताए । कोतघरबाट गलकोट उपत्यका, घुम्टेको पहाड, दरमखोला र ताराखोला गाउँपालिकाको केही खण्डसमेत देखिन्छ ।
झन्डै सय रोपनी जमिन तारबार लगाएर संरक्षण गरिएको छ । खानेपानीको धारा निर्माण, सत्तल, विश्रामस्थल र आर्कषक पदमार्ग निर्माण भइरहेको हो । पदमार्गकालागि नगरपालिकाले ३ लाख लगानी गरेको थियो । आर्कषक गेट बनाएर संरक्षण गरिने खत्रीले बताए । कोतघर भित्र अजंगका २ खुकुरी र २ खुँडा बनाएर राखिएको छ । यस अघि यहाँ पुराना हतियार समेत संकलित छन् ।
गलकोटे राजाले प्रयोग गरेका ३ सय वर्ष पुराना हतियार यहाँ सुरक्षित छन् । ‘यी सबै सामान पुरातात्विक हुन्, त्यसैले संरक्षणको योजना बनाइएको हो,’ भण्डारीले भने, ‘समृद्ध गलकोट बनाउन पर्यटकीय गन्तव्य बनाउने लक्षसहित संरक्षणको अभियान थालिएको हो ।’ गलकोटका पहिलो राजा जीतेन्द्रदेव मल्लले यो कोतघर बनाएको इतिहास छ ।





