बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि तयार रहन धौलागिरी अस्पताल प्रशासनलाई आग्रह गरेकी छिन् ।
सोमबार अस्पतालको निरीक्षण तथा अनुगमन गर्दै अधिकारीले सम्भावित तेस्रो लहरकालागि तयार रहन अस्पताल व्यवस्थापन र स्वास्थ्यर्र्कीलाई सोमबार निर्देशन दिएकी हुन् । यस अघिपनि धौलागिरी अस्पतालले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री अधिकारीले अस्पतालको प्रसंसा पनि गरिन् ।
जनशक्ति र उपकरणको अधिकतम प्रयोग गरेर सर्वसाधारणलाई सेवा दिनुपर्ने मन्त्री अधिकारीको धारणा छ । मन्त्री भएपछि पहिलोपटक बागलुङ आएकी अधिकारीले अस्पतालको सूचना केन्द्रबाट आइसोलेसन कक्षको निरीक्षण गरेकी थिईन् । अक्सिजन प्लान्ट, शिशु सघन कक्ष, प्रसुती कक्ष, पिसिआर प्रयोगशाला र डायलासिस कक्षको निरीक्षण तथा अनुगमन पछि स्वास्थ्यकर्मी र व्यवस्थापन समितिसँग संक्षिप्त अन्तरक्रिया गर्दै उनले अस्पतालमा अभाव रहेका सबै स्रोत साधनको परिपूर्तिका लागि प्रदेश सरकार तयार रहेको बताईन् ।
अन्तरक्रियामा स्वास्थ्यकर्मीले अस्पतालले गरेको कार्यप्रगती र समस्याको विषयमा जानकारी गराएका थिए । स्वास्थ्यकर्मीहरुले अस्पतालमा दक्ष जनशक्ती र उपकरणको अभाव भएको बताएका थिए । ‘अस्पतालमा रहेको अभावका बिषयमा प्रदेश सरकार गम्भिर छ’ उनले भनिन् ‘दक्ष जनशक्ती र उपकरण थप्दै जानुपर्ने अवस्था छ, अस्पताललाई २ सय शैयामा स्तरोन्नती आवश्यक हुने पूर्वाधार र जनशक्तीमा हामीले ध्यान दिन्छौं ।’ अस्पतालमा निर्माणधिन ‘सी’ब्लकको भवन निर्माण शुरु भएको आठ वर्षमापनि सम्पन्न नभएको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले मन्त्री अधिकारीलाई ध्यानार्कषण गराएका थिए ।





