बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खै खोप ? हरायो !

खै खोप ? हरायो !

कास्कीमा ३२ हजारले पर्खिँदै कोभिसिल्डको दोस्रो डोज ।


  • विनोद ढुंगाना
  • साउन २६ २०७८, मंगलबार

तनहुँ/दुलेगौंडाका श्यामकृष्ण मल्लले २८ फागुनमा कोभिडविरुद्धको खोप कोभिसिल्डको पहिलो खोप लगाए । सरकारले पहिलो प्राथमिकतामा राखेर दोस्रो चरणमा ६५ वर्षमाथिका उमेर समूहलाई उक्त खोप दिने भएपछि हत्तारिँदै खोप लिन पुगेका थिए ।

‘यो खोप एकपटक मात्रै लगाएर हुँदैन है ! अर्को खोप एक महिनापछि लगाउनुपर्छ,’ स्वास्थ्यकर्मीले पहिलो डोज खोप लगाइदिँदै भनेका थिए, ‘नबिर्सिनुस् नि ! फेरि छुट्यो भने खोपले काम गर्दैन ।’ उनले क्यालेन्डर हेर्न थालेको ५ महिना पुग्न लागिसकेको छ । उनी दोस्रो डोज खोपकै प्रतीक्षामा छन् ।

५ महिना हुन लागिसक्दा पनि डोस्रो दोज उपलब्ध नगराएर सरकारले गैरजिम्मेवारीपन देखाएको उनी बताउँछन् । ‘यत्रो समयसम्म पनि ज्येष्ठ नागरिकले लगाएको खोपको दोस्रो डोज सरकारले उपलब्ध नगराउनु दुखदायी हो,’ उनले भने, ‘चाँडो भन्दा चाँडो खोप ल्याएर हामीलाई लगाइदिनुपर्छ ।’ दोस्रो डोज खोप कहिले लगाउने, कहाँ लगाउने मल्ललाई थाहा छैन ।

तनहुँकै व्यास नगरपालिका ३ दमौलीकी सावित्री पन्थले पनि फागुन अन्तिम साता नै कोभिसिल्डको पहिलो मात्रा लगाएकी थिइन् । लामो समय भइसक्दा पनि दोस्रो मात्रा नपाएपछि खिन्न छिन् । बरु उनीभन्दा पछि लगाएका अरुले दुवै डोज लिइसके ।

२ पटक लगाउनुपर्ने कोभिडविरुद्धको खोप एकपटकमात्रै लगाएकाले त्यसले झनै असर पो पर्ने हो कि भन्ने चिन्ता पन्थलाई छ । ‘दुइटै डोज लाउन पाए ढुक्क हुन्थ्यो । नगरपालिकामा सोध्दा तपाईंले लगाएको खोप आएन भन्छन्,’ उनले भनिन्, ‘हामी भन्दा पहिले लगाउनेले पनि पाए । पछि लगाउनेले पनि दुइटै डोज लाए । हामीलाई के अन्याय गरेका हुन कुन्नी ?’

श्यामकृष्ण र सावित्री त केवल प्रतिनिधि पात्रमात्र हुन् । फागुन अन्तिम साता कोभिडसिल्डको पहिलो डोज लगाएका तनहुँका हजारौं ज्येष्ठ नागरिक डोस्रो डोजको प्रतीक्षामा छन् । पहिलो डोज लगाएको २१ हप्ताभन्दा समय बितिसक्दासमेत दोस्रो डोज नपाएका जेष्ठ नागरिकले सरकार उनीहरुप्रति उदासिन भएको आरोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय अनुसार तनहुँमामात्रै १७ हजार जना जेष्ठ नागरिक कोभिडसिल्डको पहिलो डोज लगाएका थिए । उनीहरु दोस्रो डोजको आशमा छन् । डोस्रो डोज कहिलो आउँछ पत्तो छैन ।

कास्कीमा ३२ हजारले पर्खिंदै

स्वास्थ्य कार्यालय कास्कीका अनुसार कास्कीमा कोभिसिल्डको पहिलो डोज लगाएका ३२ हजार जना दोस्रो मात्राको पखाईमा छन् । संस्थाका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले दोस्रो चरणमा जिल्लाभरका ४७ हजार जनाले पहिलो डोज लगाएका थिए ।

तर, उनीहरुमध्ये जम्मा १६ हजारले मात्रै कोभिसिल्डको दोस्रो डोज लगाएका छन् । ‘कास्कीमा पनि कोभिसिल्डको दोस्रो मात्रा लगाउन नपाएकाहरुको ठूलो संख्या छ । बेलैमा सरकारी तवरबाटै समन्वय गर्न नसक्दा उनीहरुको ढिलाइ भएको हो,’ उनले भने ।

पछिल्लो तथ्यांकअनुसार कास्कीमा अमेरिकन कोभिडविरुद्धको खोप जन्सन २४ हजार जनाले लगाएका छन् । अन्य खोप २ पटक लगाउनुपर्ने भएपनि जन्सन एकपटकमात्रै लगाए पुग्छ । त्यस्तै, चाइनिज भेरोसेल ८४ हजार ४ सय जनाले लगाएका छन् । जसमध्ये भेरोसेलको दोस्रो मात्रा १९ हजार २ सय जनाले लगाइसकेका छन् । ‘यो खोपको मात्रा पनि २÷३ दिनभित्र सबैले दोस्रोमात्रा पाइसक्छन्,’ जिल्ला स्वास्थ्य कार्यालय कास्कीका सूचना अधिकारी पौडेलले भने ।

अब आउने छैन कोभिसिल्ड !

पहिलो डोज कोभिसिल्ड लगाएकाले दोस्रो डोजमा कोभिसिल्ड लगाउन पाउने छैनन् । नेपाल सरकारले कोभिसिल्डको ठाउँमा एस्ट्रेजेनिका खोप उपलब्ध गराउने छ । जुन ३ दिनअिघमात्रै जापान सरकारले नेपाललाई उपलब्ध गराएको थियो ।

दोस्रो चरणमा ६५ वर्ष माथिका उमेर समूहले लगाएको कोभिसिल्ड भारतीय खोप हो । त्यसैको ठाउँमा जेष्ठ नागरिकले एस्ट्रेजेनिका लगाउने स्वास्थ्य कार्यालयले जनाएको छ । ‘विश्व स्वास्थ्य संगठनले नै कोभिसिल्डको दोस्रो मात्रामा एस्ट्रेजेनिका लगाउन अनुमति दिएको छ । त्यही अनुमतिअनुसार छुटेकालाई लगाउने हो,’ पौडेलले भने ।

सूचना अधिकारी पौडेलका अनुसार कास्कीमा आवश्यक एस्ट्रेजेनिका खोप आइसकेको छ । तर, उक्त खोपको दोस्रो मात्रा अभियान सुरु गर्न भने केही दिन लाग्ने जानकारी दिए । ‘अहिले भेरोसेलकै खोप कार्यक्रम चलिरहेको छ । यो कार्यक्रम २÷३ मा सकिएपछिमात्रै एस्ट्रेजेसनका खोप लगाउन सुरु गर्ने हो,’ उनले भने, ‘एकहप्ताभित्र यहाँका पालिकाहरुसँग छलफल गरेर निधो भइसक्छ ।’ काठमाडौंमा आइतबारदेखि कोभिसिल्ड दोस्रो डोज लगाउन छुटेकाहरुले दोस्रो डोजमा एस्टे«जेनिका लगाउन सुरु गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->