बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ बारमा विसंगती

बागलुङ बारमा विसंगती

कार्यकाल सकिन लाग्दासमेत खातै नखोली समय बिताएकोमा कानुन व्यवसायीले चर्को आलोचना गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७८, मंगलबार

बागलुङ/ विधि र कानून मिचियो भने सिकाउने र अदालतमा पुगेर विधिको शासनबारे बहस गर्ने कानुन व्वयसायीले आफंै विधि मान्दैनन् भने कसको आस गर्ने ? उच्च अदालत बार इकाइ बागलुङमा यस्तै विसंगती देखिएको छ ।
अधिवेशन भएको ३ वर्ष पुग्न लाग्दापनि इकाइको साधारणसभा भएको छैन । संस्थाभित्र भएका हरेक विवाद मिलाउने, गरेका निर्णयको वैधता दिलाउने साधारणसभा नै नगरिएको हो ।

त्यतिमात्र नभई ३ वर्षअघि भएका खर्चदेखि अहिलेसम्मका सबै आम्दानी र खर्च समेत खल्तीबाट हुने गरेको छ । बार एशोसिएसनले खातासमेत खोलेको छैन । बारको बैठकले अध्यक्ष, सचिव र कोषाध्यक्षको नाममा खाता खोल्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि सचिव सरिता केसीले आफ्नो र कोषाध्यक्ष बिष्णुप्रसाद सापकोटाको कागजात जुटाइन् । नेपाल बैंकबाट हस्ताक्षर संकलन गर्ने फारम समेत ल्याएर तयारी बनाइन् । अध्यक्ष शर्माले उक्त फर्म भरेनन् । न त हस्ताक्षर गरे, नत फोटो नै दिए । त्यसपछि फारम बारको घर्रामा थन्केको छ ।

कार्यकाल सकिन लाग्दासमेत खातै नखोली समय बिताएकोमा कानुन व्यवसायीले चर्को आलोचना गरेका छन् । ‘मैले धेरैपटक खाता खोल्न तयारी भयो, हस्ताक्षर गरिदिनुहोस् भने उहाँले वास्तै गर्नु भएन,’ केसीले भनिन्, ‘कति पटक भनौं, अब कार्यकालै सकिन लाग्यो ।’ उपाध्यक्ष बद्रीप्रसाद शर्माले पनि अध्यक्षले चासो नराख्दा धेरै काम बिग्रेको टिप्पणी गरे । बारको विसंगतीले अदालतका कर्मचारीले समेत वकिललाई हेप्न थालेको बताए ।

बारमा नयाँ सदस्यता प्रवेश भएमा प्रतिव्यक्ति ६ हजार शुल्क लाग्छ । हरेक वर्ष सदस्यता नविकरणका लागि नयाँ सदस्य भए ४ सय र पुरानोलाई क्रमशः ८ सय र १२ सयसम्म शुल्क लाग्छ । उच्च अदालत बार इकाइमा ७० सदस्य छन् ।
तर, उनीहरुले तिरेको नविकरण शुल्क, थपिएका नयाँको सदस्यता शुल्कसमेत खल्तीबाटै चलेको हो । खाता खोल्न नपाएपछि कोषाध्यक्ष सापकोटाले कागजी रुपमा हिसाबकिताब मिलान गरेर राखेको बताए ।

‘खाता खोलिएको छैन, अध्यक्षले मान्नु पनि भएन त्यसैले मलाई समस्या परेको छ,’ सापकोटाले भने, ‘बैंक भौचर ल्याएर फाइल गर्नुपर्नेमा नगदै राख्ने र कागजात मिलाउने काम भैरहेको छ ।’ आर्थिक कारोवार धेरै नभएपनि बारमा बेला बेलामा बैठक, भेला, चियाखाजा र नविकरणको काम भइरहेको उनले बताए ।

अध्यक्ष हरिप्रसाद शर्माले भने २÷४ हजार खल्तीमा हुनु नौलो नभएको बताए । ‘मैले एक्लै चलाएको छैन, कोषाध्यक्षले हिसाब–किताब गर्नुहुन्छ, हामी पारदर्शी नै छौं,’ शर्माले भने, ‘पदकै नाताले काम गरेका छौं, हामीले पार्टीकरण गरेका छैनौं ।’ विवाद भएर बारमा एकता भएपछि मिलेर काम गरेको भन्दै खाता नखोल्ने काम नौलो नभएको उनले दाबी गरे ।

यसअघिका कार्यकालमा बार चुस्त भएको पूर्वअध्यक्ष राम शर्माले बताए । ‘बार भनेपछि धेरै संघसंस्थाले सम्मान गर्थे, अहिले त्यस्तो भएको छैन,’ उनले भने, ‘आफूबाटै बारलाई समाजमा उँचो बनाउने हो ।’
बारमा कांग्रेस निकट लोकत्रान्त्रिक र कम्प्युनिस्ट निकट प्रगतिशील समूह छन् । अध्यक्षका लागि पालो गर्दै आएकोमा हरिप्रसाद शर्माको पालामा पालो नदिएको भन्दै विवाद भएको थियो । प्रजातान्त्रिक समूहले बहिस्कार गरेपछि अधिवेसन स्थगित भएर तीन महिना सरेको थियो । पद खाली राखेर निर्वाचन मण्डलले कार्यसमिति घोषणा गरेपछि केही समय अन्यौल समेत थियो । मौखिक रुपमा विवाद मिलेपछि पनि अध्यक्षले अदालत र वारबीच सम्बन्ध सुधार गर्न नसकेको पूर्वअध्यक्ष भूमिश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->