पोखरा/ पोखरा महानगरपालिमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले कर्मचारीहरुको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वन गर्न माग गरेका छन् ।
कांग्रेसको तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले बिहीबार विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
विज्ञप्तिमा पोखरा महानगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत, दुवै दलका नेता तथा सचेतक, प्रवक्ता ,नेकातर्फ दलका उपनेता र प्रशासन प्रमुखबीच कर्मचारी हितको विषयमा सहमति गरिएको जनाउँदै सहमति कार्यान्वयन नभएकोमा आपत्ति पनि जनाइएको छ ।
विगत २०–२२ वर्ष देखि अस्थायी, करारमा रही कार्यरत सबै कर्मचारीहरुलाई योग्यताका आधारमा तत्काल स्थायी गर्न, स्थानीय तहका कर्मचारीहरुलाई एक तह बढुवा गरी समायोजन गर्नुपर्ने माग कांग्रेसले उठाएको छ । त्यस्तै, स्थायी पदमा कार्यरत कर्मचारीहरुले पाउने अवकास सुविधा साविकको स्थानीय निकायले प्रदान गरेकोभन्दा कम नहुने गरी संशोधन गर्न र अस्थायी, करार, सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुले पाउने अवकास सुविधा ज्यादै न्यून भएकाले एकमुष्ट उचित रकम दिने व्यवस्था गर्न माग गरिएको छ ।





