बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

झ्यापझ्याप बिजुलीले सधैंको सास्ती

झ्यापझ्याप बिजुलीले सधैंको सास्ती

सबस्टेसन छैन, एक ठाउँमा बिग्रिए सबैतिर अँध्यारो ।


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७८, शुक्रबार
फाईल फोटो

बागलुङ/पटक पटक बिजुली अवरुद्ध भएर काममा असर पर्ने बागलुङको पुरानो रोग हो । अझैपनि यो समस्या समाधान भएको छैन । विद्युत अवरुद्ध हुँदा बागलुङका रेडियोदेखि पेट्रोल पम्प र घरेलु तथा साना उद्योगमा पनि पर्दै आएको छ ।

पटक पटकको विद्युत अवरुद्धले कामै ठप्प गरेर बस्नुपर्ने बाध्यता हुने गरेको ग्रील उद्योगका सञ्चालक वसन्त थापाले बताए । पर्वतको मोदीखोलामा रहेको विद्युत केन्द्रबाट ३३ हजार भोल्टको विद्युत दैनिक धौलागिरि क्षेत्रमा प्रवाहित भइरहन्छ । तर, उक्त विद्युतलाई व्यवस्थित गर्न नसक्दा दैनिक लाइन जाने र लोडसेडिङ हुने क्रम नरोकिएको हो ।

त्यसका लागि यहाँका पर्वत, बागलुङ र म्याग्दीका लागि छुट्टाछुट्टै प्रसारण लाइन चाहिन्छ । त्यो अहिलेसम्म हुन सकेको छैन । खुरकोटमा निर्माण भएको २ सय २० केभीएको प्रशारण लाइनले कालीगण्डकी प्रसारण करिडोरको विद्युत एकीकृत गर्ने काम गर्छ । तर, उक्त स्थानमा ३ जिल्लाको विद्युत वितरण गर्ने प्रविधि जडान भएको छैन । जसको कारण अहिले पनि तीन जिल्लामध्ये जता विद्युत गएपनि सबैतिर बिजुली काटिने समस्या बाँकी छ ।
यो समस्याले धौलागिरीबासी सधै आजित छन् । नेपाल बिद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवकुमार गोशलीका अनुसार मोदीदेखि बागलुङ बजार ल्याएको विद्युतलाई ३८ किलोमिटर लामो तारबाट हरिचौर र त्यहाँबाट ५० किलोमिटर लामो तारबाट बुर्तिबाङसम्म बिजुली पठाइएको छ ।

‘लामो लाइन भएकोले पटक पटक विद्युत जाने समस्या भएको हो,’ गोशलीले भने, ‘बुर्तिबाङमा सबस्टेसन नबनेसम्म यो समस्या जारी रहने भयो ।’ धौलागिरिका ३ जिल्लामा छुट्टाछुट्टै लाइन बनाउने र बागलुङको पश्चिम क्षेत्रलाई पनि छुट्टाउन सकेपछि मात्रै विद्युत आपूर्ति बन्द हुने समस्या अन्त्य हुने उनले बताए ।

बागलुङ क्षेत्रको समस्या

बागलुङ बजारको विद्युतमा रामरेखाको सबस्टेसनबाट २ वटा मात्रै प्रशारण लाइन बनाइएको छ । एउटा लाइनबाट गलकोटतर्फ विद्युत प्रवाह गरिएको छ भने अर्कोबाट बजारहुँदै नगरपालिका र काठेखोलाको खण्डमा वितरण भएको छ ।
‘धेरै स्थानमा बाढी पहिरोले पोल ढाल्ने, चट्याङले बिग्रने तथा रुख नकाट्ने समस्याले सताएको छ,’ गोशलीले भने, ‘धेरै प्रयास गर्दापनि रुख कटानको समस्या समाधान गर्न सकिएको छैन ।’

बागलुङ बजार क्षेत्रमा अघिल्लो वर्ष केबुलीकरण गरेकोले विद्युत काटिने समस्या केही कम भएको उनले बताए । नांगो तार भएकोले धेरै दुर्घटना भएपछि बागलुङ नगरपालिका १ का टेकबहादुर सार्कीले रिट निवेदन दिएका थिए । पछि उच्च अदालत बागलुङले बजार क्षेत्रमा केबुलीकरण गर्न आदेश दिएको थियो ।
मुख्य बजारमा केबुलीकरण भएपनि पञ्चकोट, कालीमाटी, तित्याङ सिगाना, भकुण्डे तथा काठेखोला क्षेत्रमा अत्याधिक जंगली क्षेत्र भएकोले विद्युत जाने समस्या भएको उनले जानकारी दिए ।

पश्चिम बागलुङको समस्या

केही समयदेखि गलकोट क्षेत्रमा अत्याधिक विद्युत जाने आउने गर्न थालेको छ । पटक पटक विद्युत गएकोले घरेलु तथा मझौला उद्योग सञ्चालन गरेकाहरुले हैरानी खेपेका छन् । रेडियोमा पनि पटकपटक बिद्युत अवरुद्ध हुँदा हैरानी खेपेको गलकोट एफएमका स्टेशन प्रमुख घनश्याम गौतमले बताए ।

पश्चिम बागलुङको बडिगाड र बुर्तिबाङमा विद्युतीकरणको काम भइरहेकोले पटकपटक लाइन काटुनु पर्ने बाध्यता पनि गोशलीले सुनाए । ‘पहिला विद्युत थिएन, अहिले विस्तार गर्दैछौं, त्यसैले काम गर्नकै लागि पनि पटक पटक काट्नु परेको हो,’ गोशलीले भने, ‘यो वास्तविक समस्या हो ।’ अन्यत्रको तुलनामा गलकोटमा बढी विद्युत अबरुद्ध भएको उनले बताए ।

बक्यौता र असुली

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले गत आर्थिक वर्ष २०७७÷०७८ मा ३५ लाख बक्यौता उठाएको छ । अधिकांश निजी उद्योग तथा व्यवसाय क्षेत्रबाट उक्त बक्यौता रकम संकलन गरिएको हो । तर, बागलुङ नगरपालिकाबाट भने झण्डै २८ लाख बक्यौता संकलन भएको छैन ।

‘सडक बत्ती लगायतको खर्चबाट धेरै वर्षको रकम असुली हुन बाँकी छ,’ गोशलीले भने, ‘पटक पटकको ताकेतापछि छिटै तिर्ने सहमति भएको छ ।’ ठूलो रकम भएकोले नगरपालिकाले बजेट जुटाएर केही महिनामै तिर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिए । सरकारी कार्यालयमा बक्यौता रहने क्रम भने २ वर्षदेखि हटेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->