बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सधैं दुख दिने ढोरपाटन–सालझण्डी बाटो !

सधैं दुख दिने ढोरपाटन–सालझण्डी बाटो !

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतिको काम समयमा नसकिँदा सर्वसाधारणले लामो समयदेखि दुख पाउँदै आएका छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७८, शुक्रबार
फाईल फोटो

बागलुङ/ नेपालको एकमात्र शिकार आरक्ष बागलुङको ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतिको काम समयमा नसकिँदा सर्वसाधारणलाई सास्ती भएको छ । तराईबाट छोटो दूरीमा बागलुङलाई जोड्न दशक अघि रेखांकन भएको यो सडकको अवस्था अहिले पनि उस्तै छ ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीको सन्धीखर्कहुँदै बागलुङको ढोरपाटन जोड्नेगरी यो सडकको ट्रयाक खुलेको थियो । गत वर्षको बाढीले बगाएको सडक मर्मत गरेर हिउँदका महिना सवारी चलेपनि बर्खा लागेपछि बेला बेलामा रोकिने गरेको छ । आयोजनाको बागलुङ खण्डमा भइरहेको काम सुस्त हुँदा सर्वसाधारणलाई सास्ती भएको हो ।

ठाउँ ठाउँमा झरेको पहिरो र बाढीले सडक नै बगाउँदा ढोरपाटन नगरपालिका ६, ७, ८ र ९ का सर्वसाधारण मर्कामा परेका हुन् । सडक सहज नहुँदा सर्वसाधारणलाई पालिका मुकाम बुर्तिबाङ बजार आउजाउमा समस्या छ ।
बर्षाको समयमा उर्लिने भुजीखोलाको जोखिम र बर्षासँगै आउने बाढी र पहिरोको जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको स्थानीय राजकुमार बुढामगरले बताए । सडकको समस्याका कारण ढोरपाटनमा फलेको आलु र स्याउको बजारीकरणमा समेत समस्या छ ।

ढोरपाटनमा बर्खे आलु फल्छ । बजारमा निकै माग हुने र किसानको बारीमा राम्रो फल्ने ढोरपाटनको आलु सडककै कारण किसानकै भण्डारमा अल्झिने अवस्था आएको अर्का स्थानीय धन बहादुर विश्वकर्मा बताए । ‘गाडी चल्ने बाटो छैन । माथि ढोरमा आलु छ, यता बजारमा माग राम्रो छ,’ उनले भने, ‘सडक मर्मत समेत राम्रोसँग भएको छैन । पानी परे हालत उत्रिने सडक छ ।’ उक्त सडकखण्ड आयोजनाको कार्यालय बागलुङमा छैन ।
१ सय ५० किलोमिटर लामो दूरीको सडकको झण्डै ५० किलोमिटर खण्ड मात्रै बागलुङमा पर्छ । सडकको स्तरोन्नति र मर्मतको काम रुपन्देहीको सालझण्डीतर्फबाट मात्रै हुने गरेकाले ढोरपाटनले सधैं सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बताए ।

अन्य योजनाहरु मार्फत काम गर्दा डुव्लीकेशन हुने भएकाले यो सडकमा कम चासो छ । सडकको निर्माणमा ध्यान दिन अर्थ, पूर्वाधार, गृह र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भएपनि सडकको अवस्था उस्तै रहेको नगर प्रमुख नेपालीले गुनासो गरे ।
ढोरपाटन शिकार आरक्ष छेउमा रहेको देउरालीमा जनै पूर्णिमा मेला लाग्छ । धार्मिक मान्यता अनुसार ढोरपाटन नगरपालिकाका अधिकांश सर्वसाधारणले देउरालीको पूजा गरेपछि मात्रै मुक्ति पाइने मान्यता छ । मेलामा पुग्नेहरुको पनि ठूलो लर्को लाग्थ्यो । तर, यस वर्ष पनि सडकका कारण यस वर्षको बर्षा याममा सर्वसाधारणले दुख भोग्ने निश्चित छ ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै बागलुङको ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको ७ वर्ष बिते पनि बागलुङको खण्डको अझै स्तरोन्नति हुन नसक्दा समस्या भएको हो । बागलुङको राजकुत, दर्लिङ र ढोरपाटन क्षेत्रमा पर्ने सडकको दुरवस्थाका कारण स्थानीयले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पर्यटकीयस्थल र मुलुककै एकमात्र शिकार आरक्ष भए पनि ढोरपाटन पुग्न सास्ती खेप्नुपर्छ । बुर्तिबाङदेखि ३६ किमी पश्चिममा ढोरपाटन छ ।
बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्गको सडकले सहज यात्रा भए पनि त्यसपछि जोखिमको यात्रा गर्नुपर्छ । हरेक वर्षात्मा खाल्डाखुल्डी पुर्ने काममा नगरपालिकाले लगानी गरिरहेको नगरप्रमुख देवकुमार नेपालीले बताए ।

‘यो बर्ष बागलुङ खण्डलाई दुई खण्डमा बाँढेर मेन्टेनेन्सको लागि ठेक्का भएको हो तर निर्माण कम्पनीले लकडाउनका कारण काम गर्न नसकेको भनेका छन्,’ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका सव ओभरसियर नवीन पाण्डेले भने, ‘२÷२ करोडका योजना हुन्, काम नभएको हेर्न पुग्न पाइएको छैन्, कोरोनाका काराण कार्यालयनै बन्द छ ।’ चालु आर्थिक वर्षमा उक्तसडक स्तरोन्नति गरेर ग्राभेल गर्नका लागि ६० करोड रुपैयाँको टेन्डर भएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->