पोखरा– गण्डकी प्रदेशको एक मात्र पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औद्योगिक क्षेत्रभित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको हो ।
औद्योगिक क्षेत्रमा रहेको खोप केन्द्रको निरीक्षणमा पुगेका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखरा औधोगिक क्षेत्रको वस्तुस्थितीको बारेमा समेत जानकारी लिएका छन् ।
औद्योगिक क्षेत्र रहेका व्यवसायी र मजदुरलाई क्रमशः सबैलाई खोप लगाउने बताउँदै मन्त्री शर्माले व्यवसाय आमजीवनसँग जोडिने विषय भएकाले हामीले प्राथमिकता बताएका छन् । त्यसैगरी कानुन मन्त्री थापाले औधोगिक क्षेत्रले आपत्तको समयमा अति आवश्यक खाद्य तथा अक्सिजन जस्ता सामाग्री उत्पादन गरेकोमा धन्यवाद ज्ञापन गर्दै उद्योगी व्यवसायीको पिरमर्का बुझ्नो काम राज्यले गर्नुपर्ने बताएका छन् ।
पोखरा औद्यौगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले खोप अभियान सुरुवात भएकोमा खुसी व्यक्त गर्दै उद्योग क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले थप ध्यानदिनु बताएका थिए । त्यसैगरी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोर्कण कार्कीले वर्तमान सरकारले विषयगत रुपमा खोपको व्यवस्थापन गरी उद्यमी व्यवसायी र मजदुरहरुको हौसला बढाएकोमा आभार व्यक्त गरेका थिए ।
कोभिड १९को महामारी चलिरहँदा पनि औधोगिक क्षेत्रको गतिविधी सुरक्षित तरिकाले सञ्चालन भईरहेको र पूर्व सावधानीको लागि खोप कार्यक्रमले मजदुर तथा व्यवसायी, कर्मचारीहरु उत्साही भएको कायममुकाम क्षेत्र प्रबन्धक भूषण कुमार उपाध्यायले जानकारी गराएका छन् । करिब तिन हजारको हाराहारीमा उद्यमी व्यवसायी र मजदुरहरु रहेको औधोगिक क्षेत्रमा शुक्रबार एक हजार खोप लगाईएको हो ।




