बागलुङ/ बिहिबारदेखि लगाइएको निशेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पहिलो दिन सवारी साधन पक्राउ गरेको प्रहरीले दोश्रो दिन जथाभावी हिँड्ने मानिसलाई पक्राउ गरेको हो ।
शुक्रबार लोकतान्त्रिक चोकमा झण्डै ३० जनालाई रोकेर एक घण्टा उभ्याइदिएको हो । तीमध्ये एक जना संक्रमित समेत रहेको थाहा पाएपछि प्रहरीले १० दिनका लागि अस्पताल पठाइदिएको छ ।
जैमिनी नगरपालिका–१ का ती संक्रमित जानीजानी सडकमा डुलेका थिए । उनले अन्य मानिसलाई समेत संक्रमण फैलाउन सक्ने संभावना बढेपछि पक्राउ गरेर अस्पताल पठाउनु परेको प्रहरी निरिक्षक बिराट शर्मा पौडेलले बताए । प्रहरीले विभिन्न चोकमा अनुगमन गरेर निशेधाज्ञालाई कडाइ गर्ने प्रयास गरेको छ ।
सार्वजनिक स्थलमा पनि भेला भएर धेरै जनाले निशेधाज्ञा उल्लंघन गर्ने गरेको पाएपछि प्रहरीले सक्रियता बढाएर एक घण्टा उभ्याएर घर पठाउने काम गरको हो । भदौ ५ गतेसम्म बागलुङमा निशेधाज्ञा छ । शुक्रबारसम्म बागलुङमा ७ सय ३० जना कोरोनाका सक्रिय संक्रमित छन् ।





