
पोखरा/प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो एक महिना यताको तथ्यांक नियाल्ने हो भने कोरोना संक्रमण फेरि उकालो लागेको छ । निर्देशनालयका अनुसार पछिल्लो एक महिनामा संक्रमितको संख्यामामात्रै उकालो लागेको छैन, मृत्युदर पनि बढेको छ ।
असार मसान्तदेखि आइतबारसम्म गण्डकीमामात्रै १ सय ९२ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । पछिल्लो २४ घन्टामामात्रै १२ जना संक्रमितले ज्यान गुमाएका छन् । जसमध्ये अधिकांश कास्कीका छन् ।
जति संक्रमितको संख्या थपिँदै गएकाछन्, सोही अनुपातमा निको हुने दर भने कम छ । एक महिनाको अवधिमै सक्रिय संक्रमितको संख्या ३ गुणाले वृद्धि भएको निर्देशनालयले जनाएको छ । संक्रमितको संख्या बढेसँगै पोखराका अस्पतालहरु फेरि भरिन थालेका छन् भने पालो पर्खेर उपचार गर्नुपर्ने स्थिति आएको छ ।
कोभिड उपचारकै लागि तोकिएको लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल पनि भरिभराउ छ । ५० बेड क्षमताको उक्त अस्पतालमा अब थप संक्रमित राख्न सक्ने अवस्था नरहेको अस्पताल प्रमुख डा विकास गौचन बताउँछन् । ‘अब आउने संक्रमितलाई फर्काएर पठाउनुको विकल्प छैन,’ उनले भने ।
पछिल्लो समय उपचारका लागि आएका अधिकांश संक्रमितहरुको अवस्था पनि गम्भीर प्रकृतिको रहेको डा गौचन सुनाउँछन् । गम्भीर प्रकृतिका बिरामी बढेसँगै फेरि अक्सिनको माग पनि बढेको उनको भनाइ छ । ‘अहिले ३५ जना संक्रमितको अवस्था क्रिटिकल नै छ । अक्सिजनको माग पनि बढेको बढ्यै छ,’ उनले भने, ‘यसरी नै बढिरह्यो भने अक्सिजन कसरी पु¥याउने भन्ने भएको छ ।’
ठीक एक महिनाअघि गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ६२८ थियो । तर, आइतबारसम्म त्यो संख्या बढेर ६ हजार १३८ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार गण्डकीमा कोरोनाबाट सबैभन्दा कास्की, नवलपुर, स्याङजा, गोरखा र बागलुङ छन् । कास्कीमा मात्रै आइतबारसम्म २ हजार ८१ जना सक्रिय संक्रमित छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा शनिबारसम्म ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६८ हजार निको भइसकेका छन् । ६ हजार संक्रमितमध्ये ४ हजार ८ सयबढी संक्रमित होम आइसोलेसनमै छन् ।
संक्रमणदर फेरि बढेसँगै जोखिम पनि बढेको भन्दै बागलुङ नगरपालिकाले फेरि लकडाउन गरेको छ । संक्रमण घटेको भन्दै निषेधाज्ञा केही खुकुलो गरे पनि २८ गतेदेखि पूर्ण लकडाउनमा गएको छ । जिल्लाका बैंक तथा वित्तीय संस्थाहरु पनि नखुल्ने गरी भदौ ५ गतेसम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञामा कडाइ गरेको छ ।
‘खोपकेन्द्रबाटै संक्रमण’
कोरोना संक्रमण घटेको भन्दै प्रशासनले निषेधाज्ञा खुकुलो गरेसँगै संक्रमणको दर पनि ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक ठाउँमा भिडभाड बढेको छ भने विभिन्न सभा, गोष्ठीहरु पनि सञ्चालन भइरहेका छन् ।
लक्षित वर्ग तोकेर कोभिडविरुद्धको खोप अभियान पनि जारी छ । तर, ती खोप केन्द्र व्यवस्थित गर्न नसक्दा सामान्य स्वास्थ्य मापदण्डसमेत पूरा भएको छैन । संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा विकास गौचन यिनै कारण पछिल्लो समय बढेको कोरोना संक्रमण बढेको बताउँछन् ।
‘जता गयो उतै भिडभाड छ । सार्वजनिक कार्यक्रम भइराखेको छ । सार्वजनिक सवारीको अवस्था त्यस्तै छ,’ डा गौचन भन्छन्, ‘सबैभन्दा बढी संक्रमण खोप केन्द्रबाटै बढेको देखिन्छ । पूरै अव्यवस्थित छ, त्यहींबाट फैलिएको मान्न सकिन्छ ।’ खोप केन्द्र अव्यवस्थित भएको भन्दै जनस्तरबाटसमेत विरोध हुँदै आएको छ ।
‘शोधभर्ना आएन, उपचारमा सकस’
सरकारले कोभिड बिरामी उपचारका लागि उनीहरुको अवस्थाका आधारमा निश्चित रकम छुट्याएको छ । उक्त रकम संघीय सरकारले दिने व्यवस्था गरिएको छ । तर, उक्त रकम नपाउँदा संक्रमितको उपचारमा समेत सकस पर्न थालेको डा गौचनको गुनासो छ ।
‘संघ सरकारले कोभिड विरामीको उपचार गर्न निश्चित रकम तोकेको छ । अवस्था हेरेर ७ हजारदेखि ३५ हजारसम्म दिने भनेको छ,’ डा गौचनले भने, ‘तर, संघ सरकारले ढिलाइ गरिदिँदा नपाउँदा बिरामीका लागि आवश्यक औषधिहरु पनि किन्न नसने अवस्थामा छौं । यसले झन् उपचारमा समस्या परेको छ ।’
२ मन्त्री संक्रमित
गण्डकी प्रदेशका २ जना मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा वन, वातारण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा छन् ।
दुवैलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शुक्रबार स्वाब परीक्षण गरेका थिए । दुवैको नतिजा कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्यावस्था सामान्य रहेको र होम आइसोलेसनमै रहेको सचिवालायले जानकारी दिएको छ ।
गण्डकी प्रदेशको पछिल्लो कोरोनाग्राफ
जिल्ला सक्रिय संक्रमित मृत्यु
कास्की २०८१ ५११
नवलपुर ७०५ १२७
स्याङजा ८०१ १४१
तनहुँ ४८१ ११८
बागलुङ ६९६ ७७
लमजुङ १८६ ३६
गोरखा ६९६ ५०
म्याग्दी १८१ ५०
पर्वत ३२६ ६४
मनाङ ३ २
मुस्ताङ २२ १६





