बागलुङ/ जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा खटिने प्रहरी यतीबेला कोरोना नियन्त्रणका लागि खटिएको छ । संम्भावित बिरामीको पीसिआर गराउन होस् वा निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी सडकदेखि सर्वसाधारणको घरसम्म छ । गाउँदेखि शहरमा पिसीआरको आवश्यकता स्वास्थ्यकर्मीले औल्याउँदा अटेरी गर्नेहरुलाई प्रहरी पुगेर स्वाब संकलन गर्ने केन्द्रसम्म पु¥याउनु पर्छ ।
होम आईसोलेसनमा बसेका संक्रमित खुलेयाम सडकमा हिँड्दा प्रहरीले नै अस्पताल पु¥याउँछ । नियमित शान्ति सुरक्षा, ट्राफिक, अपराध नियन्त्रण र अनुसन्धानका काम पनि रोकिएका छैनन् । बिरामीको जाँच, खोजपड्लात र उपचारको काम स्वास्थ्यकर्मीको हो तर कोरोना नियन्त्रणका लागि प्रहरीको भूमिका पनि उत्तिकै छ । शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको काममा मौजुदा जनशक्तिको अधिकतम प्रयोग गरेको प्रहरीले महामारी नियन्त्रणको समयमा भने जनशक्तिको अभाव महशुस गरेको छ । दरवन्दी अनुसारको जनशक्ति पदपूर्ति नहुँदा प्रहरीलाई कठिन भएको हो ।
‘जिल्लामै प्रहरीको संख्या कम छ, चौकी, इलाका र पोष्टहरुमा चाहिने जति खटाउन सकिएको छैन्’ प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लीमगर भन्छन् ‘दरबन्दी खाली छन्, जनघनत्व भएका ठाउँमा जनशक्तिले पुग्दैन् ।’ ५ सय ८७ जनाको दरवन्दी रहेको बागलुङमा ३ सय १४ जना मात्रै छन् । प्रहरी उपरीक्षक, प्रहरी अधिकृतदेखि जवानसम्मका अधिकांश पद खाली छन् । २६ जना प्रहरी नायव निरीक्षकको दरवन्दी रहेको जिल्लामा ११ जना मात्रै छन् । ६२ जना प्रहरी सहायक निरीक्षकको दरबन्दीमा ३२ जनाले काम चालउनु परेको पल्लीमगर बताउँछन् ।
‘प्रहरी अधिकृतहरु हुनुहुन्छ समस्या छैन्, जसलाई धेरै खटाउनुपर्ने हो उहाँहरुकै दरबन्दी खाली छ ।’ जिल्लामा रहेको मौजुदा जनशक्ति अबकाश पाउँदा १ सय १ जनाको दरवन्दी नै खाली छ । सरुवा भएर आउनेहरु पनि काजमा बस्दा जनशक्तिको कमी भएको कार्यालयको तथ्यांक छ ।
यहाँको दरवन्दीमा कामकाज गर्न अन्तै बस्नेहरुमध्ये धेरै जना पोखरामा छन् । मन्त्रालय, मन्त्रि निवास, भिआईपीहरुको सुरक्षा र सरकारी बिभिन्न निकायमा काजमा बस्नेहरु धेरै रहेको पल्लीमगरले बताए । ‘पोष्टिङ यहाँ हुन्छ तर काज मिलाएर सुगममा बस्नेहरु धेरै हुँदा समस्या भयो’ उनले भने ‘दरबन्दीमा नयाँ नियुक्ती नहुँदा काममा सास्ती खेप्नुपरेको छ ।’
२९ जनाको दरबन्दी हुने इलाका प्रहरी कार्यालय बलेवा ८ जनाको भरमा चलेको छ । यो एउटा उदाहरण मात्रै हो । बागलुङमा ‘क’ वर्गका इलाका प्रहरी ३, ‘ख’ वर्गका इलाका प्रहरी कार्यालय ४ र १४ वटा प्रहरी चौकी छन् । तीनवटा प्रहरी चौकी खुल्न बाँकी छन् । सबै इलाका तथा चौकीहरुमा जनशक्तिको अभाव छ ।
‘हरेक ठाउँमा प्रहरी चाहिन्छ, डियुटी खप्टाएर काम गर्नुपरेको छ’ प्रहरी प्रमुख पल्लीमगर भन्छन् ‘हाम्रो सुविधा भनेकै बिदा हो, भनेको बेला बिदा पठाउन नपाउँदा नमज्जा लाग्छ ।’ जिल्लाका लागि पोष्टिङ भएर आउने जनशक्ति समयमा पठाउनुपर्ने पल्लीमगरले बताए ।





