बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘राष्ट्रपतिसँगै अफगानिस्तान छाडियो’

‘राष्ट्रपतिसँगै अफगानिस्तान छाडियो’


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७८, बुधबार
अफगानिस्तानबाट फर्किएर त्रिभुवन विमानस्थलमा लमजुङका प्रकाश श्रेष्ठ । तस्वीर : ढोरपाटन

पोखरा/ अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दुतावासका सुरक्षा गार्ड प्रकाश श्रेष्ठको १४ तारिखमा ड्युटी थिएन । उनी आफू बस्ने कोठामै बसिरहेका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाड्दै जाँदा विद्रोही तालिवानले देशका विभिन्न प्रान्तहरु कब्जा गरिरहेका थिए । उनी बसिरहेकै ठाउँमा अमेरिकी सेनाका अधिकारीले सूचना दिए, ‘रेडी भएर बस्नू, आदेश आउनासाथ काबुल छाड्नुपर्छ ।’

प्रकाश छुट्टी सकेर काबुल फर्केको १ साता मात्र भएको थियो । लमजुङको सूर्यपाल निवासी प्रकाश अहिले स–परिवार तनहुँको दमौली बस्छन् । भारतीय सेनाबाट अवकाश लिएपछि केही वर्ष नेपालमै बसेका प्रकाश ३ वर्षअघि अफगानिस्तान पुगेका थिए । काबुलस्थित अमेरिकी दुतावासमा सुरक्षा गार्ड बसेका प्रकाशले यसअघि कुनै पनि अप्रिय घटनाको सामना गर्नुपरेको थिएन । विद्रोही तालिवानले यति छिट्टै देश कब्जा गर्ला भनेर उनले सोचेका पनि थिएनन् । ‘यति छिट्टै फर्कनुपर्छ भनेर पहिल्यै थाहा भए त नेपालमै बस्थे नि,’ उनले भने, ‘फर्कनुभन्दा २ दिनअघिसम्म पनि यस्तो होला भनेर सोचेकै थिएनौं ।’

अमेरिकी सेनाका अधिकारीले काबुल छाड्नुपर्ने सूचना दिएलगत्तै प्रकाश सामान मिलाउन थाले । भोलिपल्टै १५ तारिखमा काबुल छाड्ने आदेश आयो । प्रकाशसहित दुतावासमा कार्यरत नेपाली र अन्य देशका नागरिकले पनि फर्कने मेलो मिलाए ।
त्यतिबेला प्रकाशसँग सुरक्षा गार्ड बस्दा बोक्ने हतियार साथमै थियो । अमेरिकी सेनाले हेलिकप्टरमार्फत् प्रकाशलाई दूतावासबाट काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल लग्यो । विमानस्थल अमेरिकी सेनाको कब्जामा थियो । विमानस्थलमा सैनिक विमानबाहेक अन्य व्यावसायिक उडान बन्द गरियो । अमेरिकी दूतावासमा मात्रै होइन, अन्य देशका दूतावासमा कार्यरत विदेशीलाई पनि विमानस्थल लैजान थालिएको थियो ।

‘अमेरिकी सेनाको हेलिकप्टरले हामीलाई दुतावासबाट एयरपोर्ट ओसार्न थाल्यो,’ प्रकाशले भने, ‘हामी विमानस्थल पुग्दा भीड थियो ।’ विमानस्थलमा उनीहरु हुँदा नै गोली चलेको प्रकाशले बताए । अमेरिकी पासपोर्ट बोकेका अफगानी समेत अमेरिका वा अरु देश जान चाहेकाले विमानस्थलमा भिड बढेको उनले बताए ।

विमानस्थलमा टर्कीको सेनाले २ जनालाई नियन्त्रणमा लिएको प्रकाशले बताए । टर्की सेनाले कसलाई नियन्त्रणमा लिएको र किन नियन्त्रणमा लिएको भन्नेबारे आफूहरुलाई केही थाहा नभएको उनले बताए । त्यही बेला अमेरिकी सेनाले ‘फायर खोलेको’ हुन सक्ने उनको भनाई छ । प्रकाशका अनुसार १५ तारिखमा काबुलस्थित विमानस्थलमा हेलिकप्टरबाट समेत गोली चलेको आवाज आएको थियो । तर, कसले किन चलायो भन्ने जानकारी उनले पाएनन् ।
अमेरिकी सेनाको जहाजले प्रकाशसहित अरु नेपाली र अन्य देशका नागरिलाई कतार लग्यो । जहाज चढ्दा प्रकाशसँग आफूले बोकेको एम फोर राइफल, यसका १५० राउण्ड गोली, एउटा पेस्तोल र त्यसमा लाग्ने ४५ वटा गोली पनि थियो । अमेरिकी सेना र सुरक्षा गार्डमा बसेका सबै जना हतियारसहित जहाज चढेको प्रकाशले बताए ।

काबुलबाट उडेको सैनिक जहाज कतारतर्फ लाग्यो । उनीहरुसँग जहाजमा हतियारधारी मात्रै थिएनन्, अफगानिस्थानबाट देश छाडेर भागेका राष्ट्रपति असरफ घानीका परिवार समेत थिए । ‘हामीसँग अफगानिस्तानका राष्ट्रपतिका श्रीमती, २ छोरी र एक छोरासमेत थिए, उनीहरु सबैजना कतारमा झरे,’ प्रकाशले भने ।
जहाजमा आएका अधिकांशसँग हतियार साथमै थियो । अमेरिकी सेनाले हतियार कुवेतमा जम्मा गर्ने भन्यो । प्रकाशसहितका टोली कतारबाट सैनिक जहाजमै कुवेततर्फ लागे । कुवेतमा हतियार राखेपछि नेपाल आएको उनले बताए । कुबेतबाट नेपाल आउन पनि अमेरिकी दूतावासले नै जहाज चार्टर गरिदिएको थियो ।

प्रकाशसहित १२७ जना नेपाली अफगानिस्तानबाट कतार, कुवेत हुँदै मंगलबार काठमाडौं आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले सामाखुशी लगेर कोरोना परीक्षण गर्ने र होम आइसोलेसन पठाउने तयारी गरेका छन् ।
प्रकाशका अनुसार अफगानिस्तानमा तत्काल ठुलो खतरा छैन । तालिवानी विद्रोहीले अहिलेसम्म विदेशी नियोगमा आक्रमण गरेका छैनन् । अहिलेसम्म सबैजना सुरक्षित रहेको उनले बताए । तालिवानले अफगानी प्रहरी र सेनालाई आत्मसमर्पण गर्न लगाएको उनले बताए । ‘अफगानी प्रहरी र सेनाले आत्मसमर्पण गरेर तालिवानलाई हतियार बुझाए,’ उनले भने, ‘त्यसपछि तालिवान राष्ट्रपति कार्यालय छिरे ।’ अफगानी प्रहरी र सेनाले तालिवानलाई हतियार बुझाएर घर गएको उनले बताए । तालिवान विद्रोहीले काबुलस्थित अमेरिकी दुतावास र अन्य देशका दूतावासलाई अहिलेसम्म केही नगरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->