बागलुङ/ प्रमाणपत्र तहमा कृषि पढेकाले उनको मोह सधैं माटोमा थियो । रोपे पल्छ सुसार त चाहिन्छ भन्नेकुरा उनले कहिल्यै भुलेनन् । पढ्ने बेलामा विद्यार्थी राजनीति गरेका उनले पढाई सके । पढाईपछि मसालमा सक्रिय राजनीति थाले । राजनीतिमा आउने उतारचढावका बेला उनलाई सधैं आफ्नो पाखोबारी र करेसाबारीले साथ दिन्छ ।
गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य कृष्ण थापा यतीबेला आफ्नै बारीमा रमाईरहेका छन् । कहिले करेसाबारीमा सिमी, बोडी, रायोको साग लगाउने त कहिले सुन्तलाका बोटको सुसार गरेर थापाले दिन कटाउँछन् । ‘केही दिनमा बोडी, सिमी र रायो खाने हुन्छ’ थापा भन्छन् ‘तरकारी घरखर्ची हो, सुन्तला व्यवसायीक ।’
तीन वर्ष पहिले लगाएका १ सय बोट र दुई बर्ष पहिलेका ८० बोट सुन्तलाले उनको सुसार पाएका छन् । लामो समय राजनीतिकमा सक्रिया हुनुपरेका कारण थापा फागुन यता पहिलो पटक बारीमा पुगे ।
‘सबै झारले खाएको रहेछ, हुर्किँदै गरेका बिरुवाले सुसार पाएनन्’ थापाले भने ‘चैतमै गोडमेल गर्नुपर्ने, १६ दिनदेखि घरमै छु, सबै गोडमेल गरेँ ।’ थापाले सक्रिय राजनीति छोडेर कृषि कर्म थालेका छन् । गण्डकी प्रदेश सरकार परिवर्तनका क्रममा भएको राजनीतिक उतारचढावपछि पार्टिको कारवाहीमा परेर प्रदेसभा सदस्य पद गुमाएका थापाले बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा कृषि कर्म थालेका छन् ।
‘२०४२ सालमा मैले सुन्तला लगाउँदा बारी मास्यो भनेर धेरैले गाली भन्नुभयो, घरमा बुबाआमा पनि खुसी हुनुभएको थिएन्’ थापा सम्झन्छन् ‘उ बेला लगाएका २० वटा बोट अहिले पनि फल्छन्, पछि थपेका बिरुवा हुर्किँदै छन् ।’ फलिरहेका सुन्तलका बोटबाट बार्षिक ७०÷८० हजार रुपैयाँ आम्दानी हुने बताउने थापाले अबको जीवन कृषि कर्ममै लगाउने बताए । तीन बर्षअघि लगाएका बोटले यो बर्षबाट फल्न थाल्छन् । अर्को बर्ष थप हुर्किरहेका बोटहरुले उत्पादन दिन थालेपछि राम्रो आम्दानी हुने थापा बताउँछन् । बाँकी रहेको बारीमा नयाँ बिरुवा लगाउने उनको योजना छ ।
‘पार्टीले काम गर्न दिएन्, व्यवसायीक सुन्तला उत्पादन थाल्छु’ थापाले भने ‘करेसामा तरकारी फलाए घरमा खान पुग्छ ।’ गाउँभरी सबैले सुन्तला लगाएकाले बजारीकरणमा समस्या नहुने उनको विश्वास छ । यो बर्षपनि उनको बारीमा फलेको सुन्तला बोटबाटै ५० रुपैयाँ किलोका दरले बिक्री भएको थियो ।
‘मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम मैले नै यहाँ ल्याएको थिएँ, सुन्तलाको पकेट क्षेत्र बनाउने योजना छ’ थापाले सुनाए । उनले अब सक्रिय राजनीतिमा नआउने संकेत गरे । कारवाहीअघि राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रहेका थापाले राजमोले साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेको थियो । वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन पार्टिले दिएको निर्देशनविपरित काम गरेको भन्दै पार्टिले उनलाई कारवाही गरेको थियो ।
प्रदेश मामिला सभापतिसमेत रहेका थापा कारवाहीमा परेपछि सबै पद गुमेका थिए । बागलुङ क्षेत्र नं. १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थापा निर्वतमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको पक्षमा उभिएका थिए ।





