बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विकल्प नहुँदा यात्रीलाई सधैं सास्ती

विकल्प नहुँदा यात्रीलाई सधैं सास्ती


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७८, शनिबार

बागलुङ/ शुक्रबार बिहान बिरामी आमाको उपचारका लागि कुश्मीशेराबाट धौलागिरी अस्पताल हिँडेका उमाकान्त चापागाई झण्डै पाँच घण्टा फुर्से खोलामा रोकिए । निरन्तर झरिरहेको पहिरोका कारण सडक बन्द थियो । आमासँगै रहेका उमाकान्त मात्रै होईन उनी जस्ता बिरामी बोकेर जिल्लाको दक्षिणबाट आएका सवारीको फुर्सेखोला छेउमा लावालस्कर थियो ।

बिरामी छटपटाईरहेका देखिन्थे । हिँडेर पहिरो पार गर्न निरन्तर बगिरहेका गेगरले चोट लाग्ने त्रास, सवारी पहिरोले रोकेको थियो । कुश्मीशेराकै खाद्यान्न व्यवसायी अशोक आचार्य तीन दिनदेखि खाद्यान्न बोकेको पिकअप भ्यानसहित फुर्से खोलाकै छेउछाउमा थिए । पानी र चाउचाउ खाएर उनले दिन काटे । बागलुङ बजार र पोखराबाट बिरामी तथा अत्यावश्यक कामका मानिसरु बोकेका सवारी अर्कोतर्फ लामबद्ध थिए ।
बुधबार राती खसेको पहिरोका कारण फुर्से खोलामा कालीगण्डकी करिडोर अबरुद्ध भएको थियो । निरन्तर पहिरो पन्छाउने प्रयास भएपनि पहिरो खसिरहेकाले त्यहाँ सवारी सूचारु गर्न भने निकै कठिन छ । बागलुङ नगरपालिका–१३ पैञ्युपाटामा पर्ने फुर्से खोलामा खसेको पहिरोले दक्षिण क्षेत्रका सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

‘देख्दा अचम्म लाग्दो छ, माथी समथर ठाउँ पनि बगेर पहिरो भएको छ’ पैञ्युपाटाका भवानी प्रसाद रिजालले भने ‘कुन दिन के दुःखद सुन्नुपर्ने हो, दक्षिणका मान्छेले असाध्यै दुख पाईयो ।’ कालीगण्डकी करिडोरको ट्रयाक खोल्ने क्रममा फुर्सेखोला छेउको पहाड फोड्नका लागि पड्काईएका बमका कारण जमिन कमजोर भएर निरन्तर पहिरो आएको हुनसक्ने स्थानीयको अनुमान छ ।

यो बर्षको मनशुन सुरु भएयता दक्षिणका गाउँहरु कयौं पटक सडक सम्पर्कबिहिन भएका छन् । थोरै बर्षा हुँदा समेत फुर्सेखोला र एक्लेसालमा आउने पहिरोका कारण करिडोर अबरुद्ध हुने गरेको छ । ‘अन्तबाट सवारी चल्ने बिकल्प छैन्, भएका सडक सधैं यस्तै’ सवारी चालक लोकनाथ शर्माले भने ‘बजार पुगे गाउँ फर्किन्छ या फर्किन्न, गाउँ पुगेर बजार जान पाईंदैन भन्ने त्रास छ ।’ बागलुङ कुश्मीशेरा सडक पनि ठाउँ ठाउँमा अबरुद्ध भएका कारण सर्वसाधारणलाई दुःख भएको उनले बताए ।

सडक डिभिजन कार्यालय बागलुङले करिडोर सञ्चालनका लागि निरन्तर पहिरो पन्छाउने काम भैरहेको जनाएको छ । ‘हामीले खबर पाउँदा बित्तिकै पहिरोमा स्काभेटर पठाउने गरेका छौं’ निमित्त प्रमुख मुकुन्द लामिछानेले भने ‘हेबी इक्युपमेण्ट पोखराबाट मगाएर निरन्तर पहिरो पन्छाईएको छ ।’ पहिरो निरन्तर खसिरहेकाले मेसिनलाई काम गर्न समेत कठिन रहेको उनले बताए ।
शुक्रबार सडक डिभिजनको स्काभेटरसमेत मर्मत गर्नुपर्ने भएपछि बागलुङ नगरपालिकाले स्काभेटर लगाएर सडक खुलाएको थियो । करिडोरमा खसिरहेको पहिरोका कारण जैमिनी, बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र बरेङ गाउँपालिका समेत मनशुन अबधिभर सडकको सास्ती खेप्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->