
स्याङ्जा/ स्याङजा दहथुम मावि कक्षा १० मा पढिरहेकी मञ्जु काफ्लेले गएको २ वर्षदेखि जिन्दगीमा नसोचेको पढाइ पद्धति अपनाउनु प¥यो । साथीभाइसँग हाँस्दै, खेल्दै स्कुल गएकी उनलाई कोरोना लकडाउन भएपछि त्यो साथ छुट्यो, अनलाइन कक्षा कक्षा लिन थालिन् ।
नयाँ शिक्षण पद्धति भएर पनि होला, सुरुमा साह्रै अप्ठेरो प¥यो । तर, जब यही वैकल्पिक शिक्षण पद्धतिमा अभ्यस्त हुन थालिन्, अर्कै समस्या आइलाग्यो । ‘जुम’ कक्षा लिइरहेकैबेला कहिले लोडसेडिङ त कहिले चलाइरहेको वाइफाई ढिलो भएर फनफनी घुमिरहन्थ्यो ।
‘धेरैजसो लाइन जान्छ । भनेको कक्षा राम्रोसँग लिनै पाइँदैन । लाइन गएपछि सँगसँगै आफूले चलाइरहेको वाइफाई पनि जान्छ,’ काफ्ले भन्छिन्, ‘डाटा लिएर चलाउँदा पनि उस्तै समस्या !’ अनलाइन कक्षा आफूमात्रै नभएर साथीहरुले पनि राम्ररी लिन नपाएको उनको गुनासो छ ।
स्याङजा, भीरकोट नगरपालिका १० मा पर्ने दहथुम माविमा अध्ययनरत विद्यार्थीले लकडाउनभरि अनलाइन कक्षाका नाममा यस्तै तनाव भोगेर बिताए । तर, शनिबार स्कुलमा पुग्दा उनीहरुको अनुहारमा अर्कै रौनक थियो । हातहातमा मोबाइल समातेर कक्षा लिइरहेका थिए, न त्यहाँ मोबाइल डाटा खुला थियो न वाइफाई ।
गण्डकी प्रदेशको सहयोगमा दहथुम माविले प्रदेशभरिमै पहिलो पटक ‘अफलाइन’ कक्षाको परीक्षण गरेको छ । पिडी स्मार्ट एजुकेसन संस्थाको सहयोगमा दहथुममा ‘ईगुरु’ अफलाइन कक्षाको परीक्षण सुरु भएको हो । उक्त एप सफल भएमा विद्यार्थीले पाठ्यपुस्तक इन्टरनेटबिनै पढ्न पाउने छन् ।
अफलाइन कक्षा एप डाउनलोड गरेपछि अब आफूले चाहेकैबेला आफूले पढ्न पाउने कक्षा २ मै पढिरहेकी प्रतीक्षा थापाले सुनाइन् । ‘एपले धेरै सहजता दिएको छ । गाउँगाउँमा सबैसँग अनलाइन कक्षा लिन इन्टरेनेटको पहुँच थिएन । अब नबुझेको कुरा पनि पटक पटक आफैं सुनेर बुझ्न पाइने भो,’ उनले भनिन् ।
एपको उद्घाटन गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गरेका हुन् । एप परीक्षण कार्यक्रममा उनले घरघरमा इन्टरनेट र विद्युत पु¥याउन नसके पनि अफलाइन कक्षा सुरुआत गरेर शिक्षण पद्धतिमा परिवर्तन ल्याउन खोजेको उनले बताए ।
‘यो अहिलेलाई परीक्षण हो । आजको शिक्षा लिने समय भोलिका लागि साँचेर हुँदैन । अहिले पाइने शिक्षा एक महिनापछि लिएर पनि हुँदैन,’ मन्त्री श्रेष्ठले भने, ‘यो अफलाइन शिक्षाले कोभिडका कारण थलिएको शिक्षा क्षेत्रलाई थोरै भए पनि भरणपोषण गर्ने विश्वास छ ।’
कोभिड महामारीका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिरहेको र सबैका लागि अनलाइन कक्षा पनि भरपर्दो नभएकाका लागि अफलाइनबाटै कक्षा सञ्चालन गर्न सकिने एपको डिजाइन भएको प्राविधिक देवराज पौडेलले जानकारी दिए ।
‘सबैको पहुँचमा इनटरनेट छैन । फेरि अनलाइन कक्षा सबै विद्यार्थीको समस्याको समाधान पनि होइन,’ एपका जानकार पौडेलले भने, ‘यो अफलाइन एपले सबैलाई समेट्ने विश्वास लिएका छौं ।’ एप एकपटक डाउनलोड गरेपछि अन्य समयमा नेट नचाहिने उनले जानकारी दिए ।
हाललाई ६ देखि १० कक्षासम्मका सम्पूर्ण अनिवार्य पाठ्यपुस्तक समेटेर एप निर्माण गरिएको छ । प्रत्येक विषयको प्रत्येक पाठका लागि भिडियोबाटै प्रयोगात्मकसमेत बनाइएको पौडेलले जनाए । ‘सम्बन्धित विषयवस्तु र पाठलाई सजिलो गरी बुझ्ने गरेर भिडियो र एनिमेसन बनाइएको छ । यसले विद्यार्थीलाई बुझ्न सजिलो हुन्छ,’ उनले भने, ‘ऐच्छिक विषय भने यस समावेश गरिएको छैन ।’
गण्डकी प्रदेश शिक्षा निर्देशनालय प्रमुख अम्बिका आचार्यले उक्त अफलाइन शिक्षण पद्धति सफल भएमा गण्डकीका १ हजार ४४८ विद्यालय नै लाभान्वित हुने दाबी गरे । अहिले ६ देखि १२ सम्म प्रदेशभर ३ लाख बढी विद्यार्थी अध्ययनरत छन् । यो शिक्षण पद्धति सफल भए शिक्षा क्षेत्र परिवर्तनमा ऐतिहासिक कदम हुनेछ,’ उनले भने ।
भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले अफलाइन कक्षा सफल भएमा सरकारीमात्रै नभएर नगरभित्रका निजी स्कुलसँग पनि आफूहरु सहकार्य गर्न तयार रहेको बताए । शिशिका इन्दिरा खत्रीले कक्षामा जसरी अध्ययन गराइन्छ, एपको भिडियोलेसमेत त्यसरी नै पढाउने भएकाले विद्यार्थीलाई सजिलो हुने दाबी गरिन् ।
कोरोना महामारीले भौतिक कक्षा अनिश्चित बनेपछि सरकारले ०७७ असार १ गतेबाट अनलाइन कक्षा चलाउन अनुमति दिएको थियो । पछि पहिलो चरणको महामारी केही मत्थर भएपछि मंसिर पहिलोबाट भौतिक उपस्थितिमै कक्षा सुरु गरिएको थियो । तर, कोरोना दोस्रो लहरका कारण बैशाख दोस्रो हप्तादेखि पुनः भौतिक कक्षाहरु बन्द सँगै अनिश्चित बनेका छन् ।





