पोखरा/ केन्द्रीय तथ्याङ्क विभागका अनुसार गण्डकी प्रदेशमा रहेका कुल घर संख्याको ४० प्रतिशत घरमा कोही न कोही विदेशिएको छ । ११ जिल्लामध्ये यो संख्या स्याङ्जामा ४९.७ प्रतिशत रहेको छ । स्याङ्जामा ६८ हजार ८५६ घरधुरी रहेकोमा ३४ हजार २०७ वटा घरबाट कम्तिमा एकजना कि विदेशिएका छन् कि रोजगारीको सिलसिलामा घर बाहिर छन् ।
‘जागिरेको जिल्लाको परिचय पाएको स्याङ्जामा पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि बढेको छ’,गण्डकी नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गिरिधारी शर्माले भने,‘अध्ययनको लागि विदेशिनेको संख्या पनि ठूलो छ ।’ स्याङ्जामा ५५ प्रतिशतको हाराहारीको जनसंख्या १९ देखि ५९ वर्ष उमेर समूहका छन् । सक्रिय उमेर समूहको जनसंख्या धेरै हुँदा स्वभाविक रुपले रोजगारीको लागि घर छाड्ने तर्क शर्माको छ ।
गण्डकी नीति तथा योजना आयोगका अनुसार .अनुपस्थित जनसंख्यामध्ये पुरुष, २८९,२९९ जना (८९.६ प्रतिशत) र महिला, ३३,४५९ जना (१०.४ प्रतिशत) छन् । जिल्लागत आधारमा सबैभन्दा बढी अनुपस्थित पुरुष जनसंख्या तनहुँमा (९३.० प्रतिशत) रहेको छ भने सबैभन्दा कम मनाङ्मा (५९.५ प्रतिशत) रहेको छ । ठीक विपरीत, सबैभन्दा बढी अनुपस्थित महिला जनसंख्या मनाङ्मा (४०.५ प्रतिशत) रहेको छ भने सबैभन्दा कम तनहुँमा (७.० प्रतिशत) रहेको छ। मनाङका ११ प्रतिशत जनसंख्याले मात्रै घर छाडेका छन् ।
समाजशास्त्रीय दृष्टिले जहाँका जनता चलायमान हुन्छ्न्,त्यहाँ समृद्धि र सचेतता दुबै आउँछ । मान्छे विदेशिँदा रेमिट्यान्स भित्रन्छ । रेमिट्यान्सले घरपरिवारलाई मात्र नभएर देशकै अर्थतन्त्रलाई योगदान गर्छ । डाक्टर शर्माका अनुसार युवा शक्ति विदेशमा गई श्रम बेचेर विप्रेषणको माध्यमबाट विदेशी मुद्रा पठाउने गरेको देखिए तापनि मुलुकभित्रै विकास निर्माणको कार्यमा युवा शक्तिको उपयोग हुन नसक्दा दीर्घकालीन रुपमा देशलाई आत्मनिर्भर बनाउने अवसर गुमेको छ । २०६८ सालको जनगणना अनुसार स्याङ्जाको जनसंख्या २ लाख ६६ हजार रहेको छ ।




