काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।
गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।
एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।
एमाले परित्याग गरेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयनमा दुरुपयोग गरेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीलाई सम्बोधन गर्दै शुक्रबार पार्टी कार्यालयमा बुझाएको राजीनामा पत्रमा गौतमले पटक-पटक दिइएका सुझावविपरीत ओली सुध्रिनु भन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको उल्लेख गरेका छन् । उनले जनताको बहुदलीय जनवादले अबलम्बन गरेको संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको आरोप लगाएका छन् ।
दुई–दुईपटक संविधानविपरीत प्रतिनिधिसभा भंग गरेको आरोप लगाएका छन् । ‘तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिए’, गौतमले भनेका छन्, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रुपमा सुझावहरू पनि दिए । तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’
गौतमको राजिनामा पत्रको पूर्णपाठ :






