काठमाडौं – सरकारले यही भदौ २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ। शनिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको छ’, उनले भने। भदौ २२ गतेसम्म नेकपा एमाले र जनता समाजवादीबाट छुटेर जाने जनप्रतिनिधिहरूलाई नयाँ दलमा सनाखत हुने समय निर्वाचन आयोगले दिएको छ। त्यसको भोलिपल्ट संसद अधिवेशन राख्ने निर्णय सरकारले गरेको हो।
शनिबार मात्रै सत्तारुढ दलका शीर्ष नेताको बैठक बसेको थियो। बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए।
दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय नभइ सरकारमा जाँदा पार्टीमा असन्तुष्टि निस्किएर फेरि फुट्ने डरले माधव नेपाल र उपेन्द्र यादव दुवैलाई पिरोलेको छ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले आफ्ना नेता सांसद तान्न सक्ने डर उपेन्द्र यादवलाई छ। यस्तोमा उक्त अध्यादेश निष्क्रिय पार्न संसद बोलाइएको हो।
उता, माधव नेपाल पनि दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाएपछि मात्रै सरकारमा जाने योजनामा छन्। २० प्रतिशत थ्रेस होल्डसहितको अध्यादेशले जुनसुकै पार्टी फुट्ने चिन्ता सत्ता गठबन्धनमा छ।
सभामुख अग्नि सापकोटाले आफ्नो कारबाहीलाई कार्यान्वयन नगरेको अवस्थामा संसदमा प्रमुख प्रतिपक्षी एमाले आक्रमक रुपमा प्रस्तुत हुने संकेत दिइसकेको छ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई पारित गर्ने तयारीमा सरकार लागेका बेला संसद अधिवेशन डाकिएको हो। तेजाव आक्रमणविरुद्धको अध्यादेश पनि निष्क्रिय हुने अवस्था आइरहेका बेला संसद बस्ने भएको हो।





