बागलुङ/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अहिले देशभर सुरु भएको छ । बागलुङको वडा तहको अधिवेशन सोमबारबाट हुँदैछ । त्यसका लागि नेता कार्यकर्ताहरु गाउँ गाउँमा पुगेका छन् ।
उनीहरुले वडा तहबाटै प्रतिनिधि चयन भएर आएपछि मात्रै महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था छ । त्यसैले वर्षौंदेखि राजधानी बसेका नेताहरु अहिले गाउँ पुगेका छन् । त्यसरी गाउँ पुग्नेमा केही युवा नेतादेखि वृद्ध सम्मका छन् ।
कांग्रेस सभापति दीपेन्द्रबहादुर थापा रायडाँडामा पुगेका छन् । पूर्व सभापति प्रकाश शर्मा पौडेल, राजीनामा दिएका केन्द्रीय सदस्य किरणराज पौडेल बलेवामा छन् । नेताहरु हरि आचार्य कुश्मीसेरा, रामप्रसाद आचार्य बुर्तिवाङ, सिंहबहादुर राना, टेकराज पौडेल निसीखोला पुगेका छन् । विद्यार्थी नेता डिल्ली सुवेदी, सागर परियार लगायतका नेताहरु पनि घर घरमा पुगिसकेका छन् ।
लामो समय काठमाडौंलाई कर्मथलो बनाएर महाधिवेशनमा मात्रै गाउँ आउनेहरु प्रशस्तै भएको कांग्रेस सभापति दीपेन्द्रबहादुर थापाले बताए । ‘क्रियाशील सदस्य हुन्, जिल्लामा काम पर्दा उनीहरु देखिँदैनन्, अहिले आएका छन्, आउनु स्वभाविकै हो, तर कतिपय कार्यकर्ताले उनीहरुलाई चिनेकै छैनन्,’ उनले भने, ‘तिम्रो आवश्यकता छ आउभन्दा मान्दैनन्, तर महाधिवेशनका लागि प्रतिनिधि चाहिएपछि मात्रै आउनेहरु धेरै नै छन् ।’ अघिपछिका आन्दोलनमा सडकमा देखिनेभन्दा महाधिवेशनका लागि गाउँ आउने नेता धेरै भएको उनले टिप्पणी गरे ।
युवा नेता हरिहर शर्माले कतिपय नेताहरु पदका लागि आउने गरेको बताए । ‘केन्द्रमा राजनीतिक योगदान धेरैनै होला, तर गाउँमा दुःखसुखमा उपस्थिति नभएकाहरुको उपस्थिति बाक्लै छ,’ शर्माले भने, ‘क्षेत्र नं. १ मा भन्दा क्षेत्र नं. २ मा यो संख्या बढी छ ।’
क्षेत्रीय सभापति द्रोणराज कुँवर, पूर्वक्षेत्रीय सभापति तारानाथ पौडेल तथा जीत शेरचन लगायतका केही नेताबाहेक पश्चिमका अधिकांश राजधानी केन्द्रित भएको कार्यकर्ताले टिप्पणी गरेका छन् । ती नेताहरु गाउँ नआइदिँदा कतिपय भेला र बैठकसमेत काठमाडौमा बस्नुपरेको उनीहरुको भनाइ छ । पछिल्लो २ वर्षमा भने ती नेताहरुले कोरोना र लकडाउनलाई देखाएर उम्केका थिए ।
तर पनि महाधिवेशनले गाउँको माहोल भने तातिएको छ । कांग्रेसको केन्द्रीय नेतृत्व दाबी गर्ने सबैले वडाबाटै निर्वाचित हुनुपर्ने प्रावधान छ । त्यसका लागि बागलुङको ८५ वटै वडामा झण्डै ८ हजार क्रियाशील कार्यकर्ताबाट क्षेत्रीय र जिल्ला प्रतिनिधि छनौट हुने प्रावधान छ । महाधिवेशनका लागि पनि क्षेत्रीय अधिवेसनबाट खुला, दलित, जनजाति, महिला सहितका लक्षित समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ ।





