काठमाडौं – सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत सरकारलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ । सरकारले घटना भएको झण्डै दुई महिनापछि भारतलाई ‘कूटनीतिक नोट’ पठाएको हो ।
गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।
गृहले कूटनीतिक नोट पठाउन परराष्ट्रलाई पत्र लेखेको थियो । सोही निष्कर्षका आधारमा परराष्ट्रले कूटनीतिक नोटमार्फत भारतलाई पत्र लेखेको हो ।
यो घटनामा मौनता साँधेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।
घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको समितिले एसएसबीको उपस्थितिमा घटना भएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।





