पोखरा/ नेपाली कांग्रेस पोखरा महानगर समितिको सभापतिमा ६ जना आकांक्षी देखिएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ २७ गते हुने चुनावको लागि वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छे,अग्रज पत्रकार गंगाधर पराजुली, क्रियाशिल पत्रकार महिला ज्योति हमाल,पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, वडा नम्बर ११ का वडाध्यक्ष मोहन बास्तोला र कांग्रेस युवा नेता मिलन तिवारीले उम्मेदवारी घोषणा गरेका हुन् ।
सबै उम्मेदवारले सामाजिक संजालमार्फत् आफ्नो प्रचार थालेका छन् ।
उम्मेदवारी घोषणा गर्दै वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छेले आफू सभापतिको स्वभाविक उम्मेदवार भएको बताएका छन् । यसअघि नगर समितिको कोषाध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका विजुक्छेले आफू सभापतिको स्वभाविक दावेदार भएको जिकिर पनि गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ २७ गते पोखरा महानगरको निर्वाचन कार्यक्रम रहेको छ ।
पोखराको मोहरियाटोल निवासी विजुक्छेले २०४३ सालका नेपाली कांग्रेस प्रतिवन्धित भएकै बेला तत्कालीन पोखरा नगर पंचायत वडा नम्बर २ को कांग्रेस सभापति एवं तरुण दल हुँदै पोखरा नगर समितिमा आएको बताएका छन् ।
उनले आफू सभापति भएपछि नयाँ पोखरा निर्माणमा पार्टीको अवधारणा प्रस्तुत गर्ने एवं आगामी निर्वाचनमा पार्टीलाई सबै तहमा निर्वाचित गराउने प्रतिवद्धता पनि जनाएका छन् । आउँदो चुनावमा आफू कुनै पनि पदमा नउठ्ने उनको प्रतिवद्धता छ ।
‘आज पार्टी भित्र नयाँ साथीहरु आउनुभएको छ,त्यही अनुरुप पार्टी संगठनलाई चुस्त र दुरुस्त बनाउनुपर्ने आवश्यकता छ’,उनले भनेका छन्,‘नयाँ साथीहरुलाई गोलबन्द गदैृ आगामी निर्वाचनमा सबै निर्वाचनमा विजयी गराउनुपर्ने दायित्वलाई मैले बुझेको छु ।’ उनले नेपाली कांग्रेस पोखरा महानगर समितिको भवन निर्माणलाई पनि प्राथमिकतामा राखेका छन् । उनले नेपाली कांग्रेसको चरित्र नै समावेशी भएको स्मरण गर्दै पार्टीलाई समावेशी बनाउने अभियानमा लाग्ने पनि बताएका छन् ।
२०२७ सालमा कास्कीको चापाकोट र हाल पोखरा महानगरपालिका वडा नं २३ मा जन्मिएका अग्रज पत्रकार गंगाधर पराजुलीले कांग्रेसलाई जिवन्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
आफूले १२ वर्षको उमेरमै पञ्चकोशी निमाविमा नेपाल विद्यार्थी संघको इकाइ समितिको समितिको सचिव हुँदै राजनीतिक यात्रा थालेको बताउँदै उनले वाराही माविमा पढ्दाताका वीपी जयन्ती मनाउने क्रममा आफू गिरफ्तार भएको स्मरण गरेका छन् ।
म सधैं प्रजातन्त्रका पक्षमा सदैव लडिरहेँ, कांग्रेसको पक्षमा काम गरेकैले जेल भोगेँ,२०४६ सालको जनआन्दोलनमा उनलाई कास्कीको सिद्ध बराह माविमा पढाउदै गरेको अवस्थामा विद्यालय घेराउ गरि पक्राउ गरियो’,उनले भनेका छन्,‘ झण्डै २ महिनाको जेल जिवन बिताएर बहुदलीय प्रजातन्त्रको घोषणासँगै चैत्र २६ गते राति हामी मुक्त भएको मलाई अझै ताजै छ ।’ नेपाल शिक्षक संगठन र त्यसपछिको पत्रकारिताको क्रममा पनि लोकतन्त्र, कांग्रेसकै हितको पक्षको लागेको बताउँदै उनले २०६१ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय उप सभापति हुँदा पनि लोकतन्त्रकै पक्षमा उभिएको स्मरण गरे ।
कास्की कांग्रेसको १२ औ महाधिवेशनमा सचिवको प्रत्यासी बनेका पराजुलीले महानगरवासीका एजेण्डा र मुद्दालाई ससक्त ढंगले उजागर गर्ने र समग्र पोखराको विकासका लागि अभियान चलाउन सक्ने कांग्रेस बनाउने प्रतिवद्धता जनाएका छन् । उनले भनेका छन्,‘ नेपाली कांग्रेसको पोखरा महानगर समितिको नेतृत्व सक्षम भयो भने त्यो आवश्यकता पूरा गर्न सकिन्छ ।’ उनले आफू महानगर समितिको सभापति बनेपछि एक कार्यकाल पार्टी संगठनलाई तल्लो तहबाट जागरुक, सुदृढ र संगठीत बनाउने अभियानमा लाग्ने र आसन्न स्थानी तह एवं संसदीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
पत्रकार ज्योति हमालले गण्डकी मन्त्रिपरिषद्मा महिला सहभागिता नगराइएकोमा असन्तुष्टि जनाउँदै आफू नगर सभापतिको उम्मेदवार बनेको बताएकी छन् । उनले महिलालाई सधैं उपेक्षा गरिएको न्यायसंगत नभएको ठोकुवा गरेकी छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले नगर सभापतिको प्रत्यासी बनिरहँदा २०३६ सालदेखि आफू नेपाली कांग्रेसमा आवद्ध भएको बताउँदै आफू सभापतिको लायक भएको जिकिर गरेका छन् ।
हाल पोखरा महानगरमा काँग्रेसको तर्फबाट दलको नेता तथा सचेतक रहेर महानगरमा भएका अयिनयमिताकाबारे खबरदारी गर्दै आएको बताउँदै उनले आफू सभापति भए पार्टीको संगठन बलियो बनाएर आगामी निर्वाचनमा पार्टी जिताउने घोषणा गरेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मोहन बास्तोलाले वडाध्यक्षको रुपमा मात्रै नभएर कांग्रेसको जिम्मेवार सिपाहीको रुपमा आफूले निभाएको भूमिकाकै कारण सभापतिको लायक भएको जिकिर गरेका छन् । उनले आफू सभापति भए कांग्रेसलाई सशक्त बनाउने प्रतिवद्धता पनि जनाएका छन् ।
यता कांग्रेसका युवा नेता मिलन तिवारीले सशक्त कांग्रेस बनाउने, युवाहरुलाई राजनीतिको मुलधारमा ल्याउने एजेण्डा नै आफ्नो उम्मेदवारीको कारक भएको बताएका छन् । उनले कांग्रेसलाई गतिशील बनाउने अभियानमा आफू निरन्तर क्रियाशिल रहेको बताउँदै सबैको भावनाको कदर गर्दै उम्मेदवार बनेको बताएका छन् ।





