बागलुङ/ कहालीलाग्दो पहाडमा गोरेटो मात्रै थियो । भारी बोकेका भरिया, बच्चा बोकेका आमाहरु र बिरामी बोकेका सुसारे सबैको बाध्यता थियो साँघुरो बाटोमा घुँडा टेकेरै भएपनि ताराखोला पुग्नु । ताराखोला किनारको बाटो होस् वा देशमा सशस्त्र संघर्ष चलिरहेको थियो ।
तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीको आधार क्षेत्र मानिएको अहिलेको ताराखोला गाउँपालिकामा राज्यको नजर विकासका होइन, विद्रोहीमात्रै छन् भन्ने दृष्टि मात्रै पुग्थ्यो ।
ताराखोला किनारको बाटो होस् वा रिजाचोकदेखि अमरभुमी, अर्गल, हिल, तारा हुँदै रुमफेदी म्याग्दी पुग्ने गोरेटो किन नहोस्, यात्रा कष्टकर हुने गरेको स्मरण गर्छन्, स्थानीय गोविन्द घर्ती । जिल्ला सदरमुकामबाट पश्चिममा ढोरपाटन र दक्षिणमा बरेङ पुग्ने गरी एसियाली विकास बैंकको सहयोगमा सडक निर्माणको काम भइरहेको थियो । तर ताराखोला दुवै सडकको पहुँचमा परेन । ‘आफ्नो गाउँ आफंै बनाऔं’ भन्ने सोचेर ताराखोले जनताले कुटो कोदालो निकालेपछि सुरु भयो, रिजाचोकदेखि अमरभुमी, अर्गल, हिल, तारा, रुमफेदी बाटो बनाउने काम ।
एक मुठी चिउरा र एक गिलास चिया खाएर दिनभर कुटो कोदालोको सहाराले ०६० सालमा यो सडकको रेखा कोरिएको हो । ‘२० किलोमिटरमध्ये कहाँसम्म कस्ले खन्ने भन्ने रेखा लगाएर ट्रयाक ओपन भएको सडक हो,’ गाउँपालिका अध्यक्ष प्रकाश घर्ती भन्छन्, ‘यो सडकमा रगत र पसिना धेरैको बगेको छ ।’
१८ वर्षअघि सडक निर्माण गर्दा राज्यको पुनःसंरचना भए यो सडकमा पनि आँखा पर्लान् भनेर स्थानीयले आशा राखेका थिए । स्थानीयको एउटा सपना थियो, ‘सडक फराकिलो बनोस्, कालोपत्रे होस् ।’ आफ्नै पसिना बगेपछि स्थानीयले देखेको सपना २२ वर्षपछि पूरा हुँदैछ ।
रिजालचोकदेखि ताराखोला गाउँपालिकाको केन्द्रसम्म २० किलोमिटर सडक कालोपत्रेका लागि काम सुरु भएको हो । स्थानीय पूर्वाधार विकास आयोजना पोखराले मंगलबार तीन वर्षभित्र काम सक्नेगरी गाउँपालिकासँग सडक कालोपत्रेका लागि सम्झौता गरेको छ । सम्झौता कार्यान्वयन हुँदा आफ्नो सपना पूरा हुने बताउँछन्, स्थानीय गोविन्द घर्ती ।
प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम रिजालचोकदेखि अमरभूमिहुँदै गाउँपालिकाको केन्द्र अर्गल जाने २० किमी सडक कालोपत्रे हुँदा ताराखोलाले पहिलोपटक कालोपत्रे सडक पाउने छ ।
आयोजना प्रमुख कुमार थापा, भौतिक पूर्वाधार सहरी तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर राम पराजुली र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैह्रेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार यसवर्ष सडकको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ । स्थानीय, प्रदेश र संघीय सरकारको साझेदारीमा कालोपत्रे हुने सडकको लागि ७० करोड खर्च हुने अनुमान छ ।
‘प्रतिवेदन तयार भएपछि यसैबर्ष काम थाल्छौं, तीन बर्षभित्र काम सकिने गरी अघि बढ्छ’ गाउँपालिका अध्यक्ष घर्ती भन्छन् । प्रदेश सरकारले आयोजनको कुल बजेटको १० प्रतिशत साझेदारी गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको छ । गाउँपालिकाले दश प्रतिशत साझेदारी गरेपछि संघीय सरकारले बजेट दिनेछ ।
‘जनयुद्धका बेला ५ ग्राम चिनीमा २० ग्राम चिउरा मिसाएर खाएर स्थानीयले खोलेको ट्रयाक आज कालोपत्रे हुने भएको छ,’ अध्यक्ष घर्तीमगरले भने, ‘कालोपत्रेपछि ताराखोला थप पर्यटक हब बन्छ ।’
ताराखोलामा उत्पादित आलु, भाँगो, काठ, तथा ढुंगा निकासी गर्न सकिने उनको भनाई छ । ताराखोला पशुपालन, घरेलु उद्योग, कृषि र पर्यटनलगायतको विभिन्न संभावना भएको गाउँपालिका हो । द्वन्द्वको समयमा राज्य र बिद्रोही पक्षबाट मृत्यु हुनेको संख्या धेरै रहेको ताराखोलामा दुबैको स्मृतिको लागि यो सडकको नाम शहिद मार्ग राखिएको छ ।





