‘महिला घर परिवारको कामले भ्याउँदैनन्, क्षमता पुग्दैन भनेरमात्र हँुदैन । सचेत प्रयत्नद्वारा नेतृत्वमा महिलालाई ल्याउन जरुरी छ ।’
तनहुँ/ शुक्रबार नेकपा माओवादी केन्द्र तनहुँले जिल्लाको १० स्थानीय तहमा नेतृत्वको नाम टुंगो लगायो । नेकपा एमालेसंगको एकता प्रकृया भंग भएपछि संगठन पुर्नगठन गर्दै आएको पार्टीले स्थानीय तहको अध्यक्ष र सचिवको नाम टुंगो लगाउने बेला महिलालाई जिम्मेवारी दिन कन्जुस्याइँ गरेको देखिन्छ। बन्दीपुर गाउँ कमिटिको अध्यक्षमा विद्या क्षेत्री बाहेक अन्य महिलालाई पार्टीले नेतृत्व हाँक्ने अवसर दिन सकेन ।
नेकपा एमालेबाट अलग भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादीले शुक्रबार १ सय ४७सदस्यीय जिल्ला कमिटी घोषणा ग¥यो । कार्यकारी पदमा मनुमाय श्रेष्ठलाई उपसचिवको जिम्मेवारी तोकियो । २७ जना महिलामात्र जिल्ला कमिटीमा अटेका छन् ।
शुक्रबार र शनिबार कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँका ८४ वडामा अधिवेशन सम्पन्न भएको छ । तनहुँका कुल वडामध्ये जम्मा ४ वटा वडामा मात्र महिला सभापति निर्वाचित बनेका छन् । ८० वडामा पुरुषले कब्जा जमाउँदा ४ जना महिलाको संख्या झिनो हो ।
वडा सभापति बनेका महिला हुन्, व्यास नगरपालिका–१४ की नरीमाया राना, बन्दीपुर गाउँपालिका–४ मा सिता थापा, बन्दीपुर–५ मा रिता तिवारी र ऋषिङ गाउँपालिका–१ मा सविना राना ।अनिवार्य व्यवस्था गरिएको बाहेका अन्य पदमा पनि महिला सहभागिता कम छ ।
२ दिनको ३राजनीतिक घटनाक्रमले महिललाई नेतृत्व तहमा पुग्न अझैपनि सहज नरहेको पुष्टीगर्छ । संविधानले हरेक क्षेत्रमा महिला सहभागीता ३३ प्रतिशतसुनिश्चित गरेको त छ । तर, कार्यन्वय कहीँकतै हुदैन् । केन्द्र र प्रदेश सरकारको मन्त्रीमण्डल विस्तारमा समेत विभेदमापर्ने महिलालाईपार्टीको जिल्ला र वडा तहको राजनीतिक नेतृत्व सुम्पन कन्जुस्याइँ गर्नु नौलो भने होइन ।
महिलालाई हरेक क्षेत्रमा रोल क्रममा मात्रै सीमित राखिने नेपाली कांग्रेस ऋषिङ गाउँपालिका–१ मा नवनिर्वाचित वडा सभापति सविना राना बताउँछिन् । ‘महिला नेतृत्व हाँक्न सक्षम भएपनि दिइँदैन । सधैं रोलक्रम पु¥याइन्छ’, उनले भनिन् । महिला भएकै कारण नेतृत्व गर्न नदिइने अनुभव बटुलेकी उनले महिलाले सफल नेतृत्व गर्न सक्छ भनेर पुष्टि गर्नेगरी काम गर्ने अठोट लिएकी छन् ।
सामन्ती पितृसतात्मक सोचको अन्त्य नभएसम्म महिला नेतृत्व तहमा आउन सकस भइरहने गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला बताउँछिन् । घरको काम छोडेर नेतृत्व गर भन्नलाई कन्जुस्याइँ भइरहेको उनको भनाइ छ ।
पार्टीका नेताले पनि महिलालाई नेतृत्व दिन नचाहने कोइरालाको अनुभव छ । उनी भन्छिन्, ‘महिला घर परिवारको कामले भ्याउँदैनन्, क्षमता पुग्दैन भनेरमात्र हँुदैन । सचेत प्रयत्नद्वारा नेतृत्वमा महिलालाई ल्याउन जरुरी छ । परिवार र समाजले पनि त्यही खालको वातावरण बनाइदिनुपर्छ ।’
एकाध बाहेक महिला पनि पुरुषसँग प्रतिष्पर्धामा होमिएर नेतृत्व लिनडराउने उनले उल्लेख गरिन् । ‘क्षमता दक्षताले नपुग्न सक्छ । नेतृत्व लिन पछाडि पर्ने हैन । काम गर्दै सिक्दै जाने हो’, उनले भनिन् । नेकपा माओवादी केन्द्रकी नेतृ कोइरालाका अनुसार माओवादी जनयुद्धको बेला ४० प्रतिशतसम्म महिला नेतृत्व तहमा थिए । शान्ति प्रक्रियापछि भने घट्दै गए । बालबच्चाको स्याहारसुसार, परिवारको जिम्मेवारी, आर्थिक उपार्जन लगायत कारण पनि महिला पछाडी हट्नुपरेको उनको बुझाइ छ ।
गत स्थानीय तहको निर्वाचनमा जिल्लाको १० स्थानीय तहमा म्याग्दे गाउँपालिकाले मात्र मायादेवी रानालाई अध्यक्ष पायो । ८५ वडामा ऋषिङ गाउँपालिका–८ मा भविसरा आले वडाध्यक्ष निर्वाचित भएकी थिइन् । यीबाहेक महिलाले प्रमुख पद पाएनन् । संविधानले अनिवार्य व्यवस्था गरेको कोटामा मात्रै सीमित बनेका छन् महिला ।





