पोखरा – नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टी एकपटक अवसर पाएका नेताले पद छाड्ने हो भने कुनै पनि नेता÷कार्यकर्ता पीडित बन्नु नपर्ने बताएका छन् ।
२०४८ सालको संसदीय निर्वाचनमा सांसदको टिकट पाएका नेताहरुलाई पनि टिकट नपाएपछि भोट हाल्न फकाउनुपर्छ’,पोखरामा बिहीबार अर्जुन पौडेलद्धारा लिखित किसुनजी र राजनीति पुस्तक विमोचन कार्यक्रममा सभापति केसीले भने,‘पटक–पटक आफै समिति, महासमिति सदस्य हुने,एकपटक अवसर÷ सभापति भएकाले छाड्ने हो भने कोही पीडित हुँदैन ।’
उनले एउटै नेताले पटक–पटक लाभको पद लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै आफू आउँदो महाधिवेशनमा कास्की कांग्रेसको सभापतिको प्रत्यासी नबन्ने घोषणा पनि गरे ।आदर्शको गफ गर्ने हो भने फरक कुरा हो,जहाँ पनि गफ गर्न सकिन्छ तर आदर्श आफैमा लागू गराउनुपर्छ’,उनले मञ्चतिर हेर्दै भने,‘यो मञ्चमा बसेका कोही पनि पीडित छैनन् ।’
मञ्चमा पुस्तकका लेखकसहित गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, पूर्वसांसद प्रकाशबहादुर गुरुङ,पूर्वसभापति शुक्रराज शर्मा,महासमिति सदस्य सोभियतबहादुर अधिकारी,देवराज चालिसेलगायतका नेताहरु थिए । शुक्रराज, सोभियत,देवराज तीनैजना कांग्रेसबाट सांसदको टिकट पाएका व्यक्ति हुन् । सभापति केसीले कृष्णप्रसाद भट्टराईको आदर्शको कुरा गर्ने तर त्यागको कुरा नगर्ने हो भने कांग्रेस नसुध्रने पनि ठोकुवा गरे ।
कास्की कांग्रेसमा १४ औं महाधिवेशनअन्तर्गतको चुनावी सरगर्मी बढेको तथा सबैजसो नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरेको बेला कास्की सभापति केसीले यो अभिव्यक्ति दिएका हुन् । सभापति केसी आउँदो चुनावमा गण्डकी प्रदेश सभापतिका प्रत्यासी बन्ने तयारीमा छन् ।
यता, कास्की कांग्रेसमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आउँदो असोज १० गते हुने सभापतिको चुनावको लागि हालका उपसभापति आइबहादुर गुरुङ,सचिव सुदीपमोहन भट्टराई,महासमिति सदस्य किशोरदत्त बराल तथा कृष्ण कार्की आकांक्षीको रुपमा देखिएका छन् । यसैगरी तरुण दल कास्कीका सभापति मनोज गुरुङ पनि सभापति पर्ख र हेरको अवस्थामा छन् । यता, भदौ २७ गतेको लागि तोकिएको नगर सभापति निर्वाचनमा पोखरा महानगरको सभापतिमा हालसम्म वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छे,अग्रज पत्रकार गंगाधर पराजुली,पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला,युवा नेता मिलन तिवारी एवं पत्रकार ज्योति हमालले उम्मेदारी घोषणा गरेका छन् । यता सचिव पदमा टुवराज बास्तोला र गणेश थापाको उम्मेदवारी घोषणा भएको छ । नेपाली कांग्रेस स्रोतका अनुसार नगर सभापतिका दावेदारहरु टिमसहित चुनावी मैदानमा उत्रने तयारीमा छन् । यद्यपि,हालसम्म कसैको पनि टिम बनिसकेको छैन । स्रोतका अनुसार बाहिर नदेखिए पनि कास्कीमा कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहकै रुपमा चुनावमा होमिने तयारी थालिएको छ । हालसम्म उम्मेदवारहरुले आफूलाई कुनै गुटको नबताए पनि उनीहरु शीर्ष नेताको आशिर्वाद र सोही अनुसारको समूह बनाउने तयारीमा छन् ।
अन्तिममा यहाँ द्धिपक्षीय प्रतिस्पर्धा नै हुने हो’,कांग्रेस स्रोतले भन्यो,‘कास्कीमा केन्द्रको जस्तो नभए पनि यहीँका नेताहरुबीच प्रतिस्पर्धा हुनेजस्तो देखिएको छ ।’ उनका अनुसार कांग्रेसका पूर्वसभापति यज्ञबहादुर थापा एवं वर्तमान सभापति कृष्ण केसी आ–आफ्नै समूह बनाउने ध्याउन्नमा छन् ।
‘किसुनजी र राजनीति’विमोचन
स्कच ह्स्किी र ५५५ चुरोट किसुनजीले नै चखाउनु भो : मुख्यमन्त्री नेपलाी
नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनी समेटिएको किसुनजी र राजनीति नामक पुस्तक बजारमा आएको छ ।
नेपाली कांग्रेसका पुराना नेता अर्जुन पौडेल पुस्तकका लेखक हुन् । पुस्तकको बिहीबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विमोचन गरे । पुस्तकमा कृष्णप्रसाद भट्टराईका जीवनका विभिन्न आयाम तथा विभिन्न व्यक्तिहरुले उनलाई हेर्ने दृष्टिकोण समेटिएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री नेपालीले कृष्णप्रसाद भट्टराईसँगको सामिप्यताका प्रसंगहरु सुनाउँदै उनीसँग नैतिक वल भएको बताए ।
पुरानो प्रसंग झिक्दै उनले भने,‘मैले पहिलो पटक स्कच ह्विस्की र ५५५ चुरोट खाएको पनि किसुनजीकहाँ नै हो ।’
कार्यक्रममा बोल्दै कांग्रेस नेता देवराज चालिसेले सत्ता राजनीतिलाई लक्ष्य मान्दा राजनीतिक कुरुप बनेको बताए ।मुक्तिनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेता शुक्रराज शर्मा, सोभियतबहादुर अधिकारी, प्रकाशबहादुर गुरुङm पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव केशवबहादुर खत्री, पत्रकार प्रकाशचन्द्र सापकोटालगायतले बोलेका थिए ।





