बुर्तिबाङ बजारमा ढल निकास, सरसफाइ, सडक स्तरोन्नति, चक्रपथ र मापदण्ड अनुसारको उद्यान निर्माणमा उक्त बजेट खर्च गरिने ।
बागलुङ/ मध्यपहाडी लोकमार्गको छेउमा नमुना सहर बनाउने अभियान चलेको बुर्तिबाङमा चालु बर्ष १७ करोड खर्च गरिने भएको छ । साना सहरी विकास आयोजना बुर्तिवाङका प्रमुख अभिषेक अधिकारीले ढल निकास, सरसफाइ, सडक स्तरोन्नति, चक्रपथ र मापदण्ड अनुसारको उद्यान निर्माणमा उक्त बजेट खर्च गरिने बताए ।
नमुना सहरको काममा ढिलाइ भएको खबर आइरहेकै बेला अधिकारीले अघिल्ला २ वर्ष कामले गति लिन नसकेको स्वीकारे । तर, अब काम अगाडि बढ्ने र बजेट पनि पर्याप्त आउने उनको भनाइ छ ।
‘बसपार्कको काममा केही ढिला भएको हो, तर बजारभित्रका सबै गल्ली ढलान भइसकेका छन्, ढल निकासको पनि धेरै काम भएको छ,’ अधिकारीले भने, ‘चालु वर्ष देखिने गरी धेरै काम हुनेछन् ।’ बागलुङ सदरमुकाम पछिको ठूलो र नमूना सहर बसाल्ने योजना भएकोले योजनावद्व रुपमा काम भइरहेको उनको दाबी छ ।
व्यवस्थित बसपार्कको लागि डिपिआर बनिसकेको अधिकारीले बताए । ‘कम्तिमा ५ करोडको बसपार्क बनाउने गरी जग्गा व्यवस्थापन भइसकेको छ,’ उनले भने, ‘प्लानिङ गर्दा भुगोलले साथ नदिएकाले पाखो क्षेत्रमा जमिन खोज्नु पर्दा ढिला भएको हो ।’ चालु वर्ष बाल उद्यान, हरियाली पार्क, फूलबारीसमेत बनाउने योजना उनले सुनाए । नगर क्षेत्रको बिकास हुने गरी तमानखोला जाने सडक, अर्नाकोट, भवरेटा, कुतथाप्ला र खप्तरीबाङ लगायतका सडक निर्माणाधीन रहेको उनले बताए ।
दर्जनबढी सडकहरु स्तरीय, कालोपत्रे र ढलान भइसकेका छन् । दर्जन सडक चालु आर्थिक वर्षमा बन्ने तयारीमा छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले फोहोर व्यस्थापनका लागि उपयुक्त जमिनको खोजी भइरहेको बताए । जमिन भेटेपछि आयोजनाले काम गर्ने बताइएको छ । दीगो व्यवस्थापन गर्न सकिने गरी जग्गा खोजी भएकोले केही ढिला भएको भन्दै नगरपालिका र आयोजनाबीच समन्वय भएको भट्टराईको भनाइ छ ।
‘पुरानो सहर हो, साना गल्ली र नाली छन्, ठूलो बनाउ“दा घरै भत्काउनुपर्ने बाध्यता भएकोले त्यसतर्फ जोड दिएका छैनौं,’ उनले भने, ‘केही जमिन खाली राखेर पार्किङ लगायतको व्यवस्थापन गर्न भने आग्रह गरेका छौं ।’ नगरपालिकाले अझै भवनसंहिता पालना गरेको छैन । यहा“ जथाभावी भवन बनिरहेका छन् । समन्वय बढाउन मासिक नगरपालिकास“ग छलफल भइरहेको उनले बताए ।
नमूना सहरी आयोजनाका लागि तोकिएको मापदण्ड अनुसार बाल उद्यानसमेत बनाउनु पर्नेछ । यहा“ कुनैपनि जग्गा नपाएर उद्यान बनाउने योजना अगाडि बढ्न सकेको थिएन । कुतथाप्ला र भवरेटामा जग्गा व्यवस्थापन गरेपछि ती क्रियाकलाप अगाडि बढेको आयोजनाका अधिकारीले बताए ।
नमूना सहर बसाल्न सबै सूचक पूरा गर्न एक हजार रोपनी जमिन चाहिने कार्यविधिमा उल्लेख छ । खुला चौर र भूकम्प आउ“दाको समयमा जम्मा हुने स्थान बनाउने तयारी छ । हाल सहरको अधिकांश सडक व्यवस्थापन गरिसकेकोले अन्य काम पनि छिटै सक्ने इन्जिनियर कोमलचन्द्र साहले बताए ।
आयोजनाले कम्तिमा १ लाख जनसंख्यालाई व्यवस्थित शहरमा राख्ने लक्ष राखेको छ । हाल बुर्तिवाङको ३० हजार जनसंख्या पनि व्यवस्थित हुन नसकेकोले काम सफल हुन कठिन हुने स्थानीय मेषलाल शर्माले बताए । आगामी २०८० सालभित्र आयोजनामार्फत सडक, खानेपानी, विद्युत, उद्योग, व्यवसाय स्थापना र संचालन गरिसक्ने, व्यवस्थित बसपार्क बनाउने र मध्यपहाडी लोकमार्गमा घुम्नेलाई स्मार्ट सिटीमा बस्ने बनाउनु पर्ने उल्लेख छ ।
पछिल्लो ३ वर्षदेखि बजेट न्युन भएकोले काम नभएपनि अब कामले गति लिने अधिकारी दाबी गर्छन् । ‘चालु वर्ष १७ करोड बजेट छ, केही देखिने काम गर्छौं,’ उनले भने, ‘निसीभुजी क्याम्पसदेखि भवरेटा, छरछरे जाने सडक बनिसकेपछि नगरको जाम पनि हटाइनेछ ।’ भवरेटामा एकीकृत बस्तीका लागि जग्गा खोजी भइरहेको उनले बताए ।





