‘पटक पटक बैठकमा कुरा गरेको छु, दूरी कायम गरेर मन्दिर खोलौं भनेको, सिडिओ साप मान्नु हुन्न । के कारणले नखोल्ने भन्दा हुन्नमात्रै भन्नुहुन्छ ।’
बागलुङ – दैनिक सयौं भक्तजन पुग्ने गोरखाको मनकामना मन्दिर बुधबारदेखि खुला भएको छ । निषेधाज्ञा र कोरोना संक्रमणका कारण यो मन्दिर बन्द थियो । तर, चैतेदशैको दिनपछि बन्द भएको बागलुङ कालिका मन्दिर अझै खुलाउने प्रयास भएको छैन ।
कोरोना संक्रमण घटेको भन्दै साउन पहिलो साताबाटै सार्वजनिक याताताया खुला थियो । साउन अन्तिम सातादेखि भदौ १० गतेसम्म १५ दिन फेरी निषेधाज्ञाले यातायात रोकियो । त्यसपछि जिल्लाभर यातायात, होटलसमेत खुलेका छन् । विद्यालय खुलाउन पहल भइसकेका छन् । तर, कालिका मन्दिर अझै नखुलेको हो ।
कोरोना संक्रमणको कारण देखाएर बन्द भएको कालिका मन्दिरमा अहिलेसम्म तारबार खोलिएको छैन । दैनिक प्रहरी बसेर पैदल यात्रीलाई मन्दिरतर्फ जान समेत दिइँदैन । जिल्लाका अन्य मठमन्दिर, गुम्बा, चर्च सबै खुला छन् । कालिका मन्दिरमा भने प्रहरी बसेर रोकेकोमा धेरैलाई चित्त बुझेको छैन ।
‘बिहानको कसरत गर्नेहरु जाने गरिन्थ्यो, अहिले जान पनि पाइँदैन’ बागलुङ नगरपालिका २ का हरिप्रसाद सापकोटाले भने, ‘गाडीमा कोचाकोच यात्रा गर्दा कोरोना नसर्ने, मन्दिर परिसरमा हिँडेर कोरोना सर्ने होर ?’ कालिका गुठीका अध्यक्ष राजु खड्काले आपैंm पनि मन्दिर जान नपाएको गुनासो गर्छन् ।
मन्दिरभित्रै बस्ने पुजारीले नित्य पूजा गरेपनि अरु कोही जान नपाएको उनले बताए । ‘पटक पटक बैठकमा कुरा गरेको छु, दूरी कायम गरेर मन्दिर खोलौं भनेको, सिडिओ साप मान्नु हुन्न,’ खड्काले भने, ‘के कारणले नखोल्ने भन्दा हुन्नमात्रै भन्नुहुन्छ ।’
मन्दिरको गेटदेखि ७ सय मिटरभित्र मन्दिर छ । यहा“ दैनिक कसरत गर्नेहरु आउने जाने गर्थे । निषेधाज्ञा लागेको बेला प्रहरीले मालढुंगाबाट मन्दिरतर्फको बाटो हिँड्न नदिएपछि ५ किमी लामो मोटर चल्ने बाटैमा हिँड्न बाध्य भएको समेत स्थानीयले गुनासो गरे ।
प्रजिअले गत सातादेखि बागलुङमा फेरि निशेधाज्ञा जारी गरेका छन् । उक्त आदेशमा पनि मठमन्दिर बन्द हुने भन्ने उल्लेख छ । तर, जिल्लाका अन्य कुनैपनि मन्दिर बन्द नगरिएको खड्काले बताए ।
‘धेरै भीड हुने भएकोले मन्दिर नखोलौं भनेको हो,’ प्रजिअ शिवकुमार कार्कीले भने, ‘कुनै अन्य कारण होइन ।’ गत वर्षको निषेधाज्ञाबाटै मन्दिरमा टीका लगाउन बन्द गरिएको थियो । आएका भक्तजनले पनि बाहिरैबाट सामान्य पूजा गरेर फर्कन्थे ।





