
बागलुङ/ बागलुङ बजारमा तरकारी तथा फलफुलको कारोबार गर्ने व्यवसायीले मनपरी मूल्य लिने गरेको भेटिएको छ । मूल्यसूचि नराखी आफू अनुकुल मूल्य निर्धारण गरी व्यवसायीले फलफूल तथा तरकारी बिक्री वितरण गर्ने गरेका हुन् ।
सरोकारवाला संघसंस्थाले बागलुङ बजार अनुगमन गर्ने क्रममा व्यवसायीले मनपरी मूल्य लिने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका सरोकारवाला संस्थाले बजार अनुगमन गरेको थियो ।
‘न मुल्यसूची राखेको छ न मूल्यमा एकरुपता छ, एउटै खालको फलफुलको मूल्य बजारभरि मनपरी राखिएको छ,’ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले भने । बागलुङ बजारमा सञ्चालित १७ तरकारी तथा फलफूल पसलले बिना मूल्यसूची र पसल दर्ता नगरी बिक्री गरेको पाइएपछि कारवाही गरिएको छ ।
पहिरोका कारण पोखरा–बागलुङ राजमार्ग एक सातादेखि बन्द हुँदा बजारमा तरकारी र फलफुलको अभाव देखाउँदै बढी मूल्यमा बिक्री गरेको गुनासो बढेको थियो । सोही गुनासोका आधारमा सरोकारवाला अनुगमनमा निस्केका थिए । १९ वटा पसल अनुगमन गर्दा मूल्यसूची नराखी बेच्ने १७ व्यवसायीलाई ५ सयको दरले जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले जानकारी दिए ।
मूल्यसूची टाँस्न व्यापारीलाई कडाइ नगरकै कारण मनपरी मूल्य तोक्दै सामान बिक्री भइरहेको छ । दर्ताबिना चोक चोकमा फलफुल तथा तरकारी बेच्नेहरुका कारण दर्ता भएका व्यवसायी मारमा परेको स्थानीय व्यापारीको गुनासो छ ।
जिल्लामा अधिकांश किराना पसलले बिना इजाजत फलफूल तथा तरकारी बेच्ने गरेको अनुगमनमा पाइएको शर्माले बताए । कानुनी व्यवस्था र प्रचलित उपभोक्ता संरक्षण ऐन, २०५४ एवं नियमावली २०५६ लगायतका दर्जनौं कानुनले उपभोक्ताका अधिकारलाई सुरक्षित गरेको छ ।
तर, उपभोक्ता नै चर्को मारमा पर्नेगरी व्यवसायीले मौका छोपेर मूल्य बढाउने गरेका छन् । हरेक उपभोग्य वस्तुको कारोवार गर्ने व्यवसायीले मूल्य सूची राख्नुपर्ने अनिवार्य कानुनी व्यवस्था छ ।





