बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोरोनाको ग्रिन जोनतर्फ बागलुङ

कोरोनाको ग्रिन जोनतर्फ बागलुङ

८५ वडामध्ये अब दुइटा मात्रै रेडजोनमा छन् । स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको संक्रमणको ग्राफले बानपा–२ र ५ मात्रै रेडजोनमा परेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७८, आइतबार

बागलुङ/ कोरोना संक्रमण तीव्र भएपछि गत बैसाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । ८५ वडामध्ये अब २ वटा मात्रै रेडजोनमा छन् ।

शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको संक्रमणग्राफले बागलुङ नगरपालिका २ र ५ मात्रै रेडजोनमा परेका हुन् । तीबाहेक अन्य स्थान सामान्य भइसकेका छन् । वडा नंं २ मा १६ जना र वडा नंं ५ मा १३ जना कोरोनाका सक्रिय संक्रमित छन् । वडा नंं २ मुख्य बजार र वडा नंं ५ मा बिहे भोज खाएकामा धेरै संक्रमण देखिएको हो ।
अब बागलुङ नगरपालिका १, ३, ४, ६, ७ र ८ तथा वडा नंं १२, १३ र १४ मा केही संक्रमित होम आइसोलेसनमा बाँकी छन् । नगरपालिका भित्र कुल ४९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

सरकारले ७ जनाभन्दा कम संक्रमित भएमा त्यस्तो वडालाई पहेलो, ७ जनाभन्दा बढी संख्या संक्रमित भएमा रातो चिन्ह लगाउने प्रावधान राखेको छ । अब गलकोट नगरपालिका ११ जना काठेखोलामा ५ जना, बरेङमा ४ जना, जैमिनीमा १ जना र तमानखोलामा १ जना सक्रिय संक्रमित बाँकी छन् । अन्य सबै वडालाई निलो रङ लगाइसकिएको छ ।

गत साउन तेस्रो सातादेखि भदौ १५ गतेसम्म निरन्तर निशेधाज्ञा गरेपछि बागलुङमा संक्रमित घटेको हो । अझैपनि सुरक्षित रहनुपर्ने अवस्था भने बाँकीनै रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए ।
‘महामारीले संसारलाई समस्यामा पारेको बेला हामी सुरक्षित छौं भन्न सकिएन, तर अहिले सचेत भएर काम गर्दा जोगिने अव स्था छ’ गुरौले भने, ‘भर्खरै ग्रिन जोन छ भन्दै गर्दा संक्रमित थपिएर रेडजोन बन्न सक्छ ।’ तर सरकारले ल्याएको स्मार्ट लकडाउन र निशेधाज्ञा व्यवस्थापन गर्ने नयाँ कार्यविधिले वातावरण सहज बनाउन भने सहयोग गरेको उनले बताए ।
सरकारले ७ जनासम्म संक्रमित भएमा टोल मात्रै सिल गर्ने, त्यो भन्दा बढी भएमा वडा सिल गर्ने नीति लिएको छ । जसका कारण संक्रमण नभएको वडा संचालन गर्न सहज हुनेछ । यसअघि १÷२ जना संक्रमित हुँदा जिल्ला नै निषेधाज्ञा गर्ने क्रमले मदजुर तथा विपन्न समुदाय बढी मारमा परेका थिए ।

चाडपर्वको समयमा गरिने भीड तथा राजनीतिक क्रियाकलापले हुने भीड सकेसम्म सानो बनाएर काम गर्दा संक्रमणबाट बच्न सकिने धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलको भनाइ छ ।
‘अहिले अस्पतालमा कोरोनाका संक्रमित घटेका छन्, तर हामी उत्तिकै सचेत छौं,’ उनले भने, ‘जोखिम कम भएको बेला अस्पतालमा अन्य बिरामी, अपरेसन गर्नुपर्ने तथा डाएलाएसिस सेवालाई प्रभावकारी बनाउन लागेका छौं ।’ संक्रमण कम भएपनि कन्ट्रयाक्ट ट्रेसिङ, पिसिआर र एन्टीजेन्ट विधिबाट परीक्षण भने नरोकिने उनले बताए ।

नगर स्वास्थ्य शाखा, गाउँस्वास्थ्य शाखा र अस्पतालबाटपनि नियमित रुपमा कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए । स्वास्थ्य कार्यालयले त आकस्मिक रुपमा सडक, बजारका चोक तथा गल्लीमा पुगेर भेटिएका मानिसको एन्टीजेन्ट परीक्षण समेत गराइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->