तनहुँ-नेकपा एमालेका केन्द्रिय सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटाएर माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादीमा जानेलाई पिलोको संज्ञा दिएका छन् । तनहुँमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गदैै गुरुङले पिलो फुटेर गएकाले अब पार्टी स्वच्छ बन्ने दाबी गरे । ‘नवौ महाधिवेशन पछि पार्टीमा पिलो बढेर गएको थियो । त्यो पिलोले यति दुख दियो, माओवादी केन्द्रसँगको एकतापछि पिलो हराउँछ की भनेको झन बढ्न थाल्यो । त्यो पिलो फुटेर गयो । अब स्वच्छ बन्छ होला नेकपा एमाले ’, उनले भने ।
शरिरको पिलो फुटेर जादैमा चिन्ता लिन नपर्ने उनको जिकिर छ । एकिकृत समाजवादीमा गएका स्थानीय तहका जनप्रतिनिधीलाई पिलोको पिप भएको गुरुङले टिप्पणी गरे । ‘गण्डकीमा एक हजार सात सय ६० मध्ये ३८ जना पिलोको पिप बगेर गएका छन्’, उनले भने । करकाप र झुक्काएर लगिएकाहरु फेरी पार्टीमा फर्कने उनको विश्वास छ ।
नेपाली जनताको ईच्छा र आवश्यकता पुरा गर्न नभई माधव नेपालले कांग्रेस र माओवादीको ईच्छा पुरा गर्न पार्टी फुटाएको उनको आरोप छ । ‘केपी ओलीले ५/१० बर्ष शासन गरे अरु पार्टीको अस्तित्व समाप्त हुन सक्थ्यो । सबै पार्टीको आँखा लाग्यो र हाम्रो पार्टी फुटाए’ गण्डकी पुर्व मुख्यमन्त्री समेत रहेका गुरुङको दाबी छ ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङले समाजवादीमा गएका जनप्रतिनिधी मुलधारमा फर्किए पार्टीले स्वागत गर्ने बताए । पार्टी छाडेर समाजवादीमा सनाखत गरेका जनप्रतिनिधीलाई कुखुराको भालेको उपमा दिदै गुरुङले भने, ‘कुखुराको भालेलाई जति सम्झाउनुस बुझ्दै बुझ्दैन, मान्दै मान्दैन, सम्झदै सम्झदैन भने जस्तै हामीले ती जनप्रतिनिधीलाई प्रयत्न ग¥यौँ कहिल्यै सम्झनु भएन् । त्यै कुखुराको भाले जस्तै भो ! गएर सनाखत गरिदिनुभयो । जुन दिन फर्कन्छन् हाम्रो पार्टीले स्वागत गर्छ ।’ उनले नेपालको शिर ठाडो पार्ने नेता केपी मात्रै भएको बताए ।

तनहुँलाई आगामी निर्वाचनमा लाल किल्ला बनाएरै छाड्ने उनको उद्घोष छ । दुई चार जना तल माथी हुदैँमा पार्टीलाई केही फरक नपर्ने उनको दाबी छ ।
नेकपा एमालेका वैकल्पिक पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य एकबहादुर राना, जिल्ला अध्यक्ष केदार सिग्देल, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य दधिराज सुवेदी, गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ लगायतले पार्टीलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए ।





