
बागलुङ – कोरोना महामारीका कारण गत बैशाख ८ गतेबाट बन्द रहेको बागलुङ कालिका मन्दिर पाँच महिनापछि सर्वसाधारणका लागि खुल्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्यका मापदण्ड अपनाएर भदौ २८ देखि मन्दिर खोल्ने निर्णय गरेको हो ।
भक्तजनको भीडभाड हुने मन्दिर खुल्ला रहँदा कोरोनाको जोखिम बढ्ने भन्दै पाँच महिनाको बीचमा निषेधाज्ञा खुकुलो हुँदा समेत मन्दिर खोल्न दिईएको थिएन् । चौतर्फी आलोचना हुन थालेपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै मन्दिर खोल्न दिने निर्णय समितिले गरेको हो । सार्वजनिक सवारीसमेत चलिसकेको अवस्थामा मन्दिरमा तारबार लगाउनु गलत भएको भन्दै सर्वसाधारणले समेत आवाज उठाएका थिए ।
मन्दिरको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले समितिको बैठकमै पटक पटक मन्दिर खोल्ने बिषयमा कुरा उठाउँदै आएका थिए । ‘नियमित पुजाआजा मात्रै हुन्थ्यो, अब सर्वसाधारणले भने दर्शन गर्न पाउनु हुनेछ’ खड्काले भने ‘मास्क अनिवार्य गछौं, मन्दिर परिसरमा हात धुने व्यवस्था मिलाउँछौं, तीनवटै ढोका खुल्ला गरेर पुजा चलाउँछौं, जसका कारणले भीड कम हुन्छ ।’ बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै पार्टि प्यालेसहरु चल्न दिने निर्णय गरेको छ ।
२५ जनासम्म सहभागि हुनसक्ने गरी पार्टि प्यालेस सञ्चालन गर्न दिने निर्णय गरेको बैठकमा सहभागि खड्काले बताए । बेलुका ६ बजेसम्म खुल्दै आएका पसलहरु ७ बजेसम्म खुल्न पाउने गरी एक घण्टा समय बढाईएको छ । बजार क्षेत्रमा मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्ने निर्णय बैठकले गरेको छ ।
विद्यालय खोल्नुपर्ने भए लेखि पठाउनु ।
कोरोनाको जोखिम वर्गिकरणमा हरियो संकेत भएका स्थानीय तहहरुमा भौतिक उपस्थितीमै विद्यालय खोल्न दिने निर्णय बैठकले गरेको छ । सम्बन्धित स्थानीय तहको शिक्षा समितिले पत्रचार गरेपछि समितिको बैठक बसेर बिद्यालय सञ्चालनका बिषयमा निर्णय लिईने भनेको छ । बागलुङमा ८५ वडामध्ये बागलुङ नगरपालिकाका २ वटा वडा रातो संकेतमा छन् । अन्य सबै वडाका विद्यालय खुलाउनका लागि मास्कको प्रयोग, सरसफाई र भौतिक दुरीमा बिषेश ध्यान दिने बिषयमा बैठकमा छलफल भएको थियो ।





