सडकमा बिच्छाइएको पाइपलाइन हटाउन आयोजनाले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ३४ लाख रुपैयाँ दिएको थियो । तर, संस्थाले १÷२ ठाउँमामात्रै सारेको छ ।
बागलुङ/ मध्यपहाडी लोकमार्गको मापदण्ड मध्य भागदेखि दायाँबायाँ २५ मिटर कायम छ । बस्ती भएको स्थानमा पनि कम्तिमा १५ मिटरको सडक कायम गरेर अन्य मापदण्ड पूरा गर्दै जाने प्रावधान छ । तर, बागलुङ नगरपालिका ३ र काठेखोला गाउँपालिका १ को खहरे आसपासमा लोकमार्ग साढे ३ मिटर पनि चौडा छैन ।
ठेकेदार कम्पनीले कालोपत्रे तयारी गरिरहँदा यहाँ सडकको हालत यस्तो भएको हो । ‘कम्तिमा हामीले साढे ७ मिटर कालोपत्रे गर्ने व्यवस्था छ, फुटपाथसमेत गर्दा ९ मिटर पुग्छ,’ मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डको निर्माण गरिरहेको सिद्धिसाई भारत संयुक्त निर्माण कम्पनीका मेनेजर शिवप्रसाद लामिछानेले भने, ‘कसरी काम गर्ने, कसलाई के भन्ने ?’ यहाँका केहीघर परिवारले जग्गा र पर्खाल समेत भत्काउन नदिएपछि सडक बन्नै समस्या परेको हो ।
खहरे वारितर्फ एकवटा घर र पारितर्फ २ घर, केही जमिन काट्नुपर्नेमा बाधा आएको उनले बताए । मुआब्जा दिएर कटान गर्नसमेत नदिएपछि उक्त स्थानमा दोहोरो गाडी चल्ने सडक समेत बनाउन कठिन भएको हो । वर्षौंदेखि अलपत्र परेको यो सडक असोज १ गतेदेखि कालोपत्रे तयारी छ । दशैंअघि उपल्लाचौरदेखि खहरेसम्म कालोपत्रे गर्ने योजना बनाएको लामिछानेले सुनाए । दशैपछि खहरेदेखि अक्षेते सम्मको काम गर्ने योजना छ ।
कालोपत्रेकालागि अधिकारीले भारतबाट मजदुर झिकाएका छन् । त्यसबाहेक सबै उपकरण, सामाग्री र कच्चा पदार्थ तयारी अवस्थामा राखिएको छ । ‘गत जेठ अन्तिम साता कालोपत्रे गर्ने तयारी भइरहेकाबेला अत्याधिक बर्षातले काम रोकिएको थियो,’ उनले भने, ‘जति ढिला गरियो, त्यति हामीलाई नै घाटा पुग्ने हो त्यसैले काम अगाडि बढाएका छौं ।’ पटक पटक यो सडकखण्डमा खानेपानी, विभिन्न विद्युतका पोल र घरबस्तीले सडक विस्तारमा असर परेको उनको टिप्पणी छ ।
स्थानीय तहले पनि यो सडक निर्माणमा सहयोग नगरेको उनले बताए । ‘बागलुङ नगरपालिकालाई धेरै पटक आग्रह गरियो, तर वास्ता नभएपछि समन्वय गर्न नसकिएको हो,’ उनले भने, ‘जग्गा व्यवस्थापनमा स्थानीय सरकारले समन्वय गरिदिनुपर्ने प्रावधान छ ।’ धेरै पटक स्थानीयले काममा अबरोध गरेको उनले बताए । साथै कामदार धम्क्याउने समेत समस्या भएको उनको गुनासो छ ।
वडाध्यक्ष लक्ष्मी बास्कोटाले ठेकेदारबाट आफूलाई कुनै जानकारी नआएको बताइन् । ‘डेढ वर्षअघि मापदण्ड पुगेको छैन, चौडा सडक बनाउने भनेर कुरा आएको थियो, त्यसपछि केही भएको छैन,’ बास्कोटाले भनिन्, ‘सरकारी मापदण्ड अनुसार मुआब्जाले घर भत्काउन पनि नपुग्ने भएपछि नमानेका होलान् !’ उनले नेपालको कानुनी व्यवस्थासमेत अधुरो भएकोले समस्या परेको बताइन् । तर, राष्ट्रिय राजमार्ग भएकोले आफ्नोतर्फबाट पहल र खोजी भने गर्ने बताइन् । लामिछानेले भने नगरप्रमुखसँग मात्रै कुरा भएको, तर वास्ता नभएको टिप्पणी गरे ।
उक्त सडक खण्डमा बिच्छाइएको पाइपलाइन हटाउन आयोजनाले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ३४ लाख रुपैयाँ दिएको थियो । तर, संस्थाले पानीको पाइप एक÷दुई स्थानमा मात्रै सारेको छ । अन्यत्र उस्तै भएकोले काम गर्दा जोखिम भइरहेको प्राविधिकले बताए । खानेपानी संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले भने काम भइसकेको दावी गरेका छन् ।
यो सडककै बोक्सेमा भने निरन्तर पहिरोले सडक निर्माणमा समस्या भएको छ । माथिल्लो खण्डबाट पानी लगाइदिने र हिउँद बर्षातमा पहिरो खस्दा काम रोकिएको हो । यहाँ परम्परागत कालोपत्रेले नहुने भएपछि ढलान गर्ने, संरक्षण पर्खाल लगाउने काममा भेरिएसन अर्डर पठाएको उनले बताए । विभागको अलमलले काम रोकिएको छ । झन्डै ४ सय मिटर खण्डमा सडक ढलान गर्ने र माटो उठाएर लैजानुपर्ने बाध्यता छ । पहिरोले गर्दा स्थानीयले माटो फाल्न पनि नदिँदा बोक्सेमा बढी समस्या भएको हो ।





