बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चन्दा र श्रमदानबाटै बन्यो २० लाखको मन्दिर

चन्दा र श्रमदानबाटै बन्यो २० लाखको मन्दिर


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७८, बुधबार

बागलुङ/ समुदायको अगुवाइ भयो भने लाखौं रकमको बिकास निर्माण संभव हुन्छ भन्ने यहाँका बासिन्दाले देखाएका छन् ।

बागलुङ नगरपालिका ९ तित्याङ स्थित गाममा गाउँलेको चन्दा तथा श्रमदान जुटाएर २० लाख रुपैयाँमा बालभैरव मन्दिर निर्माण भएको छ । धेरै पुरानो र जीर्ण मन्दिर भएकोले स्थानीयले लाखौं खर्चेर बनाएको उपभोक्ता समितिका अध्यक्ष रबिन खत्रीले बताए ।

२० लाख रकम मध्ये १५ लाख नगदै संकलन गरेका स्थानीयले ५ लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए । मन्दिरमा तामाको छाना छाइएको छ । आर्कषक कलात्मक बुट्टा भरेका टुँडालहरु बनेका छन् । यसरी बनेका टुंडाल देख्दा काठमाण्डौका ऐतिहासिक मन्दिरको झल्को दिन्छ ।

बिशेष गरी भरखर जन्मेका बालबालिकाको बोली नफुटेमा, हातखुट्टा लुलो भएमा तथा अन्य समस्या पर्दा बाल भैरवको भाकल गरेर निको भएको स्थानीयको किंवदन्ती छ । यो मन्दिरमा हरेक साताको मंगलवार मात्रै पुजा हुने गर्छ । मन्दिरको विश्वासको कारण गलकोट र बलेवा देखि पनि कैयौं मानिस पुजा गर्न पुग्ने गरेको ८० बर्षिय नरबहादुर खत्रीले बताए । ‘धार्मिक विश्वास र यहाँको आर्कषणले पनि मन्दिर निर्माणमा सबैको चासो बढ्यो’ खत्रीले भने, ‘ऐतिहासिक किंवदन्ती र अहिलेको अबस्थामा पनि धेरैको विश्वास भएकोले मन्दिर पुन निर्माण गरियो ।’

यो मन्दिर मंगलवार वडा अध्यक्ष गणेश थापाले उद्घाटन गरे । उनले मन्दिर निर्माण धार्मिक बिषय भएपनि गाउँलेहरु जुट्ता लाखौं रकम संकलन गर्न र बिकास गर्न सकिने रहेछ भनेर यो उदाहरण बनेको बताए । ‘राज्य कोषको एक रुपैयाँ पनि नपरेपनि आर्कषक र पुरातात्विक महत्वको मन्दिर बन्ने रहेछ’ उनले भने, अब मुर्ति स्थापनामा नगरपालिकालाई सहयोग मागेका छौं ।’ उनले मुर्ति निर्माणमा नगरपालिकालाई सहकार्य गर्न लगाएको बताए ।

मन्दिरमा स्थानीय महिला समूहले बत्ति समेत बालेका थिए । मन्दिर उद्घाटन कार्यक्रममा बाजागाजा सहित स्थानीयले सहभागिता समेत जनाएका थिए । मन्दिरमा अब नियमित पूजाआजा गरिने बताइएको छ । किंवदन्ती अनुसार यहाँको जंगलमा बस्ने राक्षसलाई धपाउन भैरव स्थापना भएको थियो । भैरव स्थापना भएपछि राक्षसहरु छिन्न भिन्न भएर गाउँमा मानवीय र भौतिक सुरक्षा भएको स्थानीयमा विश्वास छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->