बागलुङ/ सात वर्षअघि पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा पक्कि पुलको परिकल्पना गरियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक छ ।
कालीगण्डकीमा निर्माणाधीन पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नु पर्दैन । २०७१ सालमा पुलको चर्चा चलेपछि संविधानसभाका सदस्य विकास लम्सालले पुल द्रूतगतिबाट बन्नुपर्ने प्रस्ताव गरे ।
तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री बिमलेन्द्र निधीलाई भेटेर कागजी प्रक्रिया नअल्मल्याउन आग्रह भयो । पुलको प्रारम्भिक अध्ययन, बिस्तृत परियोजना प्रतिवेदन तयार गर्नेदेखि लागत स्टमेट तयार गर्नेसम्मका काम एक वर्षमै सकिए । सडक बोर्डले ठेक्का आव्हान गर्ने बेलासम्मका काम द्रूत मार्गमा नै भए ।
२०७२ सालको अन्त्यतिर टेण्डर आव्हान भयो । न्यूनतम र सारभूत मूल्यमा काम गर्न तयार भएको टेण्डर पेश गरेका तीन कम्पनीले पुल निर्माणको जिम्मेवारी पाए । २०७३ असोज ९ गते रसुवा÷श्री गिता÷फेवा जेभीले सडक डिभिजन कानर्यालयसँग पुल निर्माणको सम्झौता गर्यो । काजगी प्रक्रिया द्रुतगतिमा तयार भएको पुलको निर्माण प्रक्रिया भने धीमा छ । जैमिनीघाटमा निर्माणाधीन पुलको काम थालेको ५ वर्ष बितिसक्दा समेत ३५ प्रतिशत काम मात्रै भएको सडक डिभिजन कार्यालय बागलुङको तथ्यांक छ ।
‘पुल छिटो बनाउने भनेर प्रारम्भिक कामहरु छिटो गर्न लगायौं, तर समस्या देखाएर पुल बनिरहेको छैन’। गण्डकी प्रदेश सरकारका निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत रहेका विकास लम्साल भन्छन् ‘बीचमा आएका समस्या सहजीकरण गरियो ।’
पुलको बागलुङ र पर्वत दुबैतर्फ पिल्लर बनाउने काम मात्रै सकिएको छ । पिलरका लागि आवश्यक संरचना निर्माण र पुलको सुरक्षाका लागि लगाइने पर्खालको समेत केही काम भएको निर्माण व्यवसायी कम्पनीका प्रतिनिधि विष्णु कोइरालाले बताए । पटक–पटक म्याद थप गरेर पुल निर्माणका लागि निर्माण व्यवसायीलाई प्रोत्साहित गरेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
पुलको स्टमेट नै परिवर्तन गर्नुपरेकाले निर्माण व्यवसायीले समयमा काम गर्न नपाएको सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख मुकुन्द प्रसाद लामिछानेले बताए । ‘पहिले नर्मल फाउण्डेसनको स्टमेट थियो, पछि पाइल फाउण्डेसन गर्ने भनेर स्टमेट परिवर्तन गर्दा एक वर्ष फाइल अल्झियो’,लामिछाने भन्छन् ‘पाइल फाउण्डेसनका लागि आवश्यक मेसिन पु¥याउन बाटोको अभाव भएका कारण लामो समय काम भएन्, निर्माण व्यवसायी सम्झौता तोड्ने मानसिकतामा थिए, हामीले प्रोत्साहित गरेर काम गर्न लगाएका छौं ।’ असजिलो काम सकिएकाले अब भने पुल बन्ने आशा पलाएको लामिछानेले बताए ।
१३ करोड १२ लाख ४९ हजार ३६४ रुपैयाँमा लागतमा तीस महिनामा सक्नेगरी पुल निर्माणको सम्झौता भएको थियो । ‘पहिले पाइल फाउण्डेसन निर्माणका लागि मेसिन त्यहाँ पु¥याउन सकेनौं, मेनुअल फाउण्डेसन पटक पटक भत्कियो’, निर्माण व्यवसायी कोइराला भन्छन्,‘पछि लकडाउनमा प्रशासनले काम गर्न दिएन, कामदार पठाएपछि कसरी काम होस् ।’ कोईरालाले आउँदो असारसम्म पुलको बाँकी काम सकिने बताए । अब समस्या नरहेकाले वर्षा रोकिएपछि धमाधम काम गर्ने उनको भनाई थियो ।
समयमा पुल नबनेका कारण भदौ १७ देखि एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङबासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीय बताउँछन् ।





